भोलिदेखि विराट गोल्डकप, उद्घाटन खेलमा पुलिस र भुटान भिड्दै

१४ चैत, विराटनगर । विराट गोल्डकपको आठौं संस्करण भोलि बिहीबारबाट सुरु हुँदैछ । रात्रीकालिन फुटबल प्रतियोगिताको उद्घाटन खेलमा भुटानको रोयल थिम्पु एफसी (आरटिसी) र विभागीय टोली नेपाल पुलिस क्लब खेल्दैछन् ।
बुधबार पत्रकार सम्मेलन गर्दै गोल्डकप ट्रष्टका अध्यक्ष किशोरबहादुर शाहीले प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिए । उनका अनुसार बेलुका पौने ६ बजेबाट प्रतियोगिता सुरु हुनेछ । १० टिम सहभागी भएको प्रतियोगिताका बिजेता ११ लाख र उपविजेता टोलीले ५ लाख ५० हजार नगद सहित शिल्ड प्राप्त गर्ने छन् ।
प्रतियोगिताको समूह ‘ए’ मा घरेलु टोली सांग्रिला मोरङ एफए, भुटानको रोयल थिम्पु एफसी, नेपाल पुलिस क्लब, सशस्त्र प्रहरी बलको टोली एएपिएफसी र सहिद स्मारक ‘ए’ डिभिजन लिग विजेता चर्च ब्वाईज युनाइटेड छन् । समूह ‘बि’ मा भारतको सिक्किम ड्रायगन्स, साउर्थन समिति कोलकाता, त्रिभूवन आर्मी फुटबल क्लब, न्यूरोड टिम, मच्छिन्द्र फुटबल क्लब छन् ।
२०१८ सालबाट महेन्द्र गोल्डकपको नाममा आयोजना हुँदै आएको गोल्डकप २०६८ बाट विराट गोल्डकपमा परिवर्तन भएको थियो ।
तत्कालीन महेन्द्र गोल्डकपमा विभागीय पुलिस क्लबले तीन पटक उपाधि जितेको थियो । भुटानको थिम्पु एघारले २०३१ सालमा गोल्डकपको उपाधि जितेको थियो ।
चैत २४ गतेसम्म सञ्चालन हुने प्रतियोगिता सञ्चालन गर्न १ करोड १८ लाख ४३ हजार रुपैयाँ लाग्ने ट्रष्टले जनाएको छ । ट्रष्टले पहिलो पटक आफै आयोजक भएर गर्न लागेको प्रतियोगिताको मुख्य प्रायोजकमा एनआइसी एसिया बैंक र रमपम चाउचाउ छन् ।
– यस समाचारको श्रोत : Online Khabar हो ।