Main

अमेरिकामा भायोलिनवादक युकीसँग कवि नवराज पराजुलीले प्रस्तुति दिने

काठमाडौं । नेपालका कवि नवराज पराजुलीले प्रसिद्ध अमेरिकी भायोलिनवादक युकी नुमाता रेस्निकसँग अर्को साता अमेरिकामा संयुक्त प्रस्तुति दिने भएका छन् ।

सगरमाथाको गहिराइ कवितासंग्रहका लेखक तथा पोयट्री पर्फमर पराजुलीले अमेरिकाको बफ्लोमा १२ अप्रिलमा कविता प्रस्तुत गर्नेछन् । ग्रामी अवार्डले सम्मानित प्रसिद्ध टेलर स्विफ्टका १९ गीतमा भायोलिन वादन गरेकी संगीतकर्मी युकी नुमाता रेस्निकले छानिएका कविताहरु प्रस्तुत गर्ने कार्यक्रम छ ।

ह्याप्पी बर्थडे, रुख, च्याउ, खोया लगायत कविता लेखेका पराजुलीले अमेरिकामा यसअघि मिस्टिक इकोज नामक काव्ययात्रा गरिसकेका छन् ।

कोकोम्हेंदो आन्सम्बलले अप्रिल १२ मा आयोजना गर्ने कविता कन्सर्टमा उनले १० कविता सुनाउने आयोजक संस्थाका लामिन तामाङले बताए । मिस्टिक इकोजकै अर्को संस्करणका रुपमा कार्यक्रम आयोजना गरिएको उनले जानकारी दिए ।

आयोजकका अनुसार विश्वभर संगीतकै लागि निर्मित प्रतिष्ठित संगीत भवनहरुमा युकीले आफ्नो कला प्रस्तुत गरिसकेकी छन् । न्युयोर्क सिटीको आइकनिक कार्निगी म्युजिक हल, म्याडिसन स्क्वाएर गार्डन, अस्ट्रेलियाको सिड्नी अपरा हाउस, युरोप र एसियाका केही म्युजिक भेन्युजमा उनले आफ्नो प्रस्तुति दिइसकेकी छन् ।

प्रसिद्ध अमेरिकी संगीतज्ञसँग सहकार्य गर्ने मौकाका लागि पराजुलीले धन्यवाद दिएका छन् । युकीले विश्वविख्यात टेलर स्विफ्टको म्युजिक एल्बम फोकलोर र एभ्रीमोरका लागि भायोलिन बजाएकी छिन् । ती एल्बममा भएका १९ वटा गीतमा उनको भायोलिन वादन छ । पराजुलीको कवितामा युकीको प्रस्तुतिले अझै रोचकता थप्ने तामाङले बताए ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button