रास्वपाको केन्द्रीय महाधिवेशन अनिश्चित

१० वैशाख, काठमाडौं । पाँच वर्षमा दुई चरणमा महाधिवेशन गर्ने विधान बनाएको राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो चरणको महाधिवेशन नै अनिश्चित बनेको छ । विधानतः महाधिवेशन संघीय चुनावको एक वर्षभित्र हुनुपर्दछ ।
संघीय चुनाव भएको एकवर्ष भित्र महाधिवेशन गर्नुपर्ने विधान कार्यान्वयन नगर्न ‘संक्रमणकालीन व्यवस्था’ले साथ दिएको छ । संक्रमणकालीन व्यवस्था अनुसार रास्वपाको पहिलो महाविधेशन आफू अनुकूल पर धकेल्न सकिने अनुकूलता पार्टीलाई छ ।
संक्रमणकालीन व्यवस्था अन्तर्गत दफा ९५ मा ‘पार्टीको प्रथम राष्ट्रिय महाधिवेशन, प्रदेश अधिवेशन, जिल्ला अधिवेशन, पालिका अधिवेशनबाट नयाँ नेतृत्व चयन नहुन्जेल संक्रमणकालीन व्यवस्था लागू हुने’ उल्लेख छ ।
यही व्यवस्था देखाएर रास्वपाले सुस्त गतिमा निर्वाचन प्रक्रिया अघि बढाएको छ । संक्रमणकालीन व्यवस्थाको आड नलिएको भए रास्वपाले गत मंसिरभित्र पहिलो महाधिवेशन गरिसक्नु पर्ने थियो । वडा तहको अधिवेशन धीमा गतिमा गरिरहेको रास्वपाले पालिका, प्रदेशसँगै केन्द्रीय महाधिवेशनको कार्यतालिका सार्वजनिक गर्न सकेको छैन ।
मंसिर देखि सुरु भएको वडा अधिवेशन ६ महिनाको अवधिमा १९८ वडामा मात्रै सकिएको छ । वडा अधिवेशन सुस्त गतिमा गरिरहेको रास्वपाले त्यस माथिका संरचनाको मिति तोक्न सकेको छैन । रास्वपाको निर्वाचन आयोगका सचिव भूमिनन्द बराल अधिवेशनको गति सुस्त भएको स्वीकार्छन् ।
विधान संशोधन र उप निर्वाचनमा लाग्दा अधिवेशनमा सुस्तता आएको उनले बताए । वडा अधिवेशनका सबै प्रक्रिया थाति राखेर हाल सिंगो पार्टी इलाम–२ मा हुने उप निर्वाचनमा केन्द्रित भएको छ ।
‘अबको तयारी १२ सय वडामा गर्नेछ । वडाहरु २०८१ भरिमा सक्ने पार्टीको लक्ष्य छ । यो वर्षमा ४ हजार बढी वडामा अधिवेशन सक्छौं ।’ तल्लो तहको अधिवेशनको कार्यतालिका सार्वजनिक गर्न नसकेको रास्वपाले केन्द्रीय महाधिवेशनको समय यकिन गर्न थप समय लगाउने भएको छ ।
बरालका अनुसार ३५० पालिका र करिब १५ सय वडामा पार्टी संरचना छ । कमिटी गठन हुन नसकेका वडामा कुन रुपमा अधिवेशन गर्ने अन्योल पनि रास्वपामा छ । उपनिर्वाचन लगत्तै वडा कमिटी नभएका स्थाका बारेमा निर्णय हुने रास्वपाले जनाएको छ ।
पालिकाभित्रका कुनै वडाको अधिवेशन गर्न सम्भव नभए केन्द्रीय संगठन विभागले निर्णय गरी उक्त वडाको अधिवेशन थाँती राखी पालिका अधिवेशन गर्न सकिने व्यवस्था विधानले दिएको छ । यसपछि आउने तालिकामा पनि केन्द्रीय महाधिवेशनको मिति भने नतोकिने बरालले बताए । २०८२ को मंसिरतिर केन्द्रीय महाधिवेशन गर्न सकिने आकलन उनले गरे ।
वडा तहको अधिवेशन नभई माथिल्लो संरचनाका अधिवेशन सम्भव हुँदैन । कमिटी निर्माणको गतिलाई हेर्दा रास्वपाको ६ हजार ७४३ वडामा कमिटी गठन गरेर २०८२ मंसिर भित्र महाधिवेशन गर्न सहज देखिँदैन । सबै वडामा कमिटी गठन हुन नसके विकल्पका रुपमा नयाँ विषय पनि रास्वपामा उठेको छ ।
गाउँपालिकामा ३३, नगरपालिकामा ४४ र महानगरमा ५५ जना पार्टी सदस्य बने भने उनीबाट नै महाधिवशेन गरेर प्रतिनिधि छानिने विषयमा पनि कुरा भएको बरालले जानकारी दिए ।
पार्टीको निर्वाचन आयोगका अनुसार बागमती र लुम्बिनीमा तुलनात्मक रुपमा संगठन विस्तार अन्यको तुलनामा बढी छ । कर्णाली र मधेसमा संगठन विस्तार धिमा गतिमा भएको आयोग सचिव बरालले जानकारी गराए ।
कर्णालीमा एउटा र मधेसमा दुई वडामा हालसम्म अधिवेशन हुन सकेको छ । गत मंसिरमा बसेको पार्टी सचिवालय बैठकले कर्णाली संरचना भंग गरेको छ । तीन जिल्लामा हालसम्म पार्टी संरचना गठन नै हुन सकेको छैन ।
पाँच वर्षमा दुई चरणमा महाधिवेशन गर्ने गरी रास्वपाले विधानलाई संशोधन गरेको छ । केन्द्रीय निर्वाचन आयोगले राष्ट्रिय महाधिवेशन अवधि सकिनु ६ महिनाअघि नै दुई चरणमा हुने महाधिवेशनको मिति र स्थान पार्टीलाई सिफारिस गर्नुपर्ने व्यवस्था छ ।
पाँच वर्षको अन्तरमा दुई पटक महाधिवेशन गरेर पहिलो चरणमा सभापतिसहित ५० जना केन्द्रीय सदस्य र दोस्रो चरणमा थप ५० जना केन्द्रीय सदस्य थप्ने प्रावधान राखिएको छ ।
एक महाधिवेशनबाट अर्को महाधिवेशनको समयावधि १८ महिना देखि ३६ महिनाको फरक हुनुपर्ने विधानको व्यवस्था छ । २० जना केन्द्रीय सदस्य मनोनित गर्ने अधिकार सभापतिलाई दिइएको छ ।
महाधिवेशन प्रतिनिधिहरुमा पालिका, निर्वाचन क्षेत्र परिषद्, जिल्ला परिषद्, प्रदेश परिषद्, केन्द्रीय लेखा आयोग, अनुशासन आयोग, केन्द्रीय विभाग, प्रदेश विभाग, प्रवास सम्पर्क विभागका सदस्य, आयोजक समितिका सदस्य सहभागी हुनेछन् । महाधिवेशन स्थल एकै ठाउँमा राख्ने वा फरक फरक स्थानबाट गर्ने टुंगो लगाउने जिम्मेवारी केन्द्रीय निर्वाचन आयोगलाई छ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।