Main

गणेशमान सिंह राष्ट्रिय टेनिसमा सुनिरा र ऋतिक च्याम्पियन

१० कात्तिक, काठमाडौं । सुनिरा थापा र ऋतिक राणा चौथो वीर गणेशमान सिंह राष्ट्रिय टेनिस प्रतियोगिताको सिंगल्समा च्याम्पियन भएका छन् ।

गणेशमान सिंह फाउन्डेसनको आयोजनामा शनिबार भएको प्रतियोगितामा सुनिरा महिला सिंगल्स र ऋतिक पुरुष सिंगल्समा च्याम्पियन भएका हुन् । उनीहरुले समान एक लाख रुपैयाँ नगद पुरस्कार पाए ।

नेपाल टेनिस संघको कोर्टमा भएको पुरुष सिंगल्सको फाइनलमा सुनिराले अभिलासा विष्टमाथि ६–४ र ७–५ को जित रचिन् । पुरुष सिंगल्सको फाइनलमा ऋतिकले राजवीर प्रधानलाई ६–१ र ६–३ ले हराए । सिंगल्समा दोस्रो भएका खेलाडीले नगद ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गरे ।

पुरुष सिंगल्समा प्रणव मानन्धर र आयुषमान हजुर घले संयुक्त रूपमा तेस्रो भए । महिला सिंगल्समा भने प्राज्ना मानन्धर र स्वस्तिका विष्ट तेस्रो भए । तेस्रो स्थानका खेलाडीलाई समान १२ हजार पाँच सय रुपैयाँ पुरस्कार प्रदान गरिएको थियो ।

पुरुष ४५ वर्षमाथि सिंगल्समा कमलबहादुर भण्डारी च्याम्पियन भए । कमलले फाइनलमा छेवाङ लामामाथि ६–१ र ६–२ को जित रचे । च्याम्पियन कमलले ३७ हजार पाँच सय र छेवाङले १८ हजार सात सय ५० रुपैयाँ प्राप्त गरे ।

यसै उमेरसमूहमा सुकमान तामाङ र महेश श्रेष्ठ तेस्रो स्थानमा रहे । यी दुईले तीन हजार १२५ रुपैयाँ प्राप्त गरे ।

पुरुष डबल्समा आयुष्मान घले र प्रदीप खड्काको जोडीले सफलता पाएका थिए । महिला डबल्समा भने खेलाडी संख्या नपुगेपछि प्रतिस्पर्धा रद्द गरिएको थियो ।

नेपाल टेनिस संघको प्राविधिक सहयोगमा सम्पन्न प्रतियोगिताको सिनियर, भेट्रान र जुनियरमा गरी जम्मा २२ स्पर्धामा प्रतिस्पर्धा भएको थियो ।

पुरूषमा ३५ वर्षमाथि सिंगल्समा सन्तोष खत्री र डबल्समा सन्तोष खत्री र सुवास बस्नेतको जोडी, ५५ वर्षमाथि सिंगल्समा कमल थापा र डबल्समा उत्तम शेर्पा र चन्द्र शाहीको जोडी, ६५ वर्षमाथि सिगंल्समा कमल थापा र डबल्समा विदुर बिष्ट र भिक्टोर राणाको जोडीले सफलता पाए ।

३५ वर्षमाथि सिगंल्समा विजेताले ५० हजार, २५ हजार र १२ हजार पाँच सय रूपैयाँ पाए । ३५ वर्षमाथि डबल्सको विजेताले ३१ हजार २५०, उपविजेताले १८ हजार ७५० र तेस्रो हुनेले १२ हजार पाँच सय प्राप्त गरे ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button