Main

एनपीएलमा सुदीप अर्याल बने पोखराको आइकनिक प्लेयर

१ मंसिर, काठमाडौं । पोखरा एभेन्जर्सले नेपाल प्रिमियर लिग (एनपीएल) का लागि ट्यालेन्ट हन्टमार्फत नवलपुरका सुदीप अर्याललाई आइकनिक खेलाडीका रुपमा छनोट गरेको छ ।

अलराउन्डर रहेका अर्याल ट्यालेन्ट हन्टबाट छनौट भएर एनपीएल खेल्न पाउने पहिलो आइकनिक प्लेयर बनेका छन् । पोखरा एभेन्जर्सका अध्यक्ष सुबोध त्रिपाठीका अनुसार टिमले गण्डकी हिरोज टिमका लागि उत्कृष्ट पाँच खेलाडी छनोट गरेको छ ।

जसमध्ये उत्कृष्ट हुँदै आइकनिक खेलाडी बनेका अर्यालले एनपीएल खेल्ने अवसर पाएका हुन् । अर्यालसँगै स्याङ्जाका सन्दीप खत्री, कास्कीका कृष्ण पौडेल र सोहेल कुँवर र तनहुँका सन्दीप पराजुली गण्डकी हिरोजका रुपमा छनोट भएका छन् ।

‘स्थानीय क्रिकेट र युवा खेलाडीको विकासका लागि हामीले गण्डकी हिरोजको अवधारणा अघि सारेका हौं। । पोखरा एभेन्जर्स अन्तर्गत रहने गण्डकी हिरोजले स्थानीयसँगै प्रदेश स्तरबाट विभिन्न प्रतियोगितामा वर्षभरिनै प्रशिक्षण र प्रतिस्पर्धामा सहभागी हुनेछ,’ अध्यक्ष त्रिपाठीले भने ।

पोखरा एभेन्जर्सका प्रबन्ध निर्देशक मनोबल श्रेष्ठ घरेलु क्रिकेटको विकासका लागि गण्डकी हिरोजको अवधारणले टेवा पुर्‍याउने बताउँछन् । ‘गण्डकी हिरोजका रुपमा छनौट भएका खेलाडीलाई हामी प्रशिक्षित गर्दै स्थानिय खेलाडीको स्तर वृद्धिमा जोड दिनेछौं’, श्रेष्ठले भने ।

आगामी मंसिर १५देखि पुस ६ सम्म काठमाडौंमा आयोजना हुन गइरहेको एनपीएलमा पोखराका लागि नेपाली राष्ट्रिय टोलीका ओपनर कुशल भुर्तेल मार्की छन् ।

टिमका सल्लाहकार एवम् परामर्शदाताका रुपमा दक्षिण अफ्रिाकाका लेजेन्ड खेलाडी जोन्टी रोड्स अनुबन्ध भइसकेका छन् । त्यस्तै चेन्नई सुपरकिंग्सका ब्याटिङ र फिल्डिङ प्रशिक्षक रहेका राजिव कुमार मुख्य प्रशिक्षकका रुपमा अनुबन्ध भइसकेका छन् ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button