सेयर कर्जामा ठूला ऋणी आक्रामक, घटाए सानाले
१ कात्तिक, काठमाडौं । एक वर्ष अवधिमै सेयर धितो कर्जा २८.४ प्रतिशत बढेको छ । रकममा यस्तो कर्जा २२ अर्ब ७ करोड ७५ लाख बराबर बढेको हो ।
बैंक तथा वित्तीय संस्थाबाट चालु आर्थिक वर्ष भदौ मसान्तसम्म सेयर धितो (मार्जिन प्रकृति) कर्जा ९९ अर्ब ७६ करोड ५६ लाख रुपैयाँ प्रवाह भएको छ ।
जबकि गत आव भदौ मसान्तसम्म सेयर धितो कर्जा ७७ अर्ब ६८ करोड ८१ लाख प्रवाह भएको थियो । चालु आव भदौमा मात्रै ९ अर्ब ६७ करोड बराबर सेयर धितो कर्जा प्रवाह भएको छ । अन्य क्षेत्रमा कर्जा प्रवाह हुन नसक्नु र पर्याप्त तरलता रहेपछि सेयर धितो कर्जाको वृद्धि उच्च देखिन्छ ।
बैंक तथा वित्तीय संस्थाले एक व्यक्तिलाई १५ करोड रुपैयाँसम्म सेयर धितो कर्जा प्रवाह गर्न पाउँछन् । संस्थाका हकमा यस्तो सीमा छैन । समग्रमा एउटा बैंकले सेयर धितो कर्जामा कोर क्यापिटलको ४० प्रतिशतसम्म मात्रै दिन पाउने व्यवस्था छ ।
पछिल्लो समय घट्दो ब्याजदर र सेयर मूल्य सस्तो हुँदा समग्रमा सेयर धितो कर्जा बढेको छ । हाल कतिपय बैंकले आधार दरमै सेयर धितो कर्जा प्रवाह गर्ने गरेका छन् । समग्रमा एकल अंककै ब्याजमा सेयर धितो कर्जा पाइने गरेको छ ।
ठूला ऋणी आक्रामक, सानाले घटाए कर्जा
ठूला ऋणीको सेयर धितो कर्जा उच्च दरले बढेको देखिन्छ । औसतमा एक वर्ष अवधिमा २८ प्रतिशतले सेयर धितो कर्जा बढ्दा ठूलो अर्थात् १ करोडमाथिको कर्जा प्रवाह ४५.५ प्रतिशत बढेको छ ।
गत आवको भदौ मसान्तसम्म १ करोडमाथिको कर्जा रकम ४५ अर्ब २९ करोड ५६ लाख रुपैयाँ रहेकोमा यो भदौ मसान्तसम्म आइपुग्दा ६५ अर्ब ९३ करोड १४ लाख पुगेको छ ।
त्यस्तै ५० लाखदेखि १ करोडसम्मको कर्जा प्रवाह एक वर्ष अवधिमा १२.९२ प्रतिशत बढेको छ । यो सीमाको कर्जा गत भदौ मसान्तसम्म ११ अर्ब ३५ करोड २१ लाख रुपैयाँ रहेकोमा यो भदौ मसान्तसम्म १२ अर्ब ८१ करोड ९८ लाख पुगेको छ ।
२५ देखि ५० लाखसम्मको कर्जा प्रवाह भने जम्मा ०.७४ प्रतिशत बढेको छ । यो सीमाको कर्जा गत आवको भदौ मसान्तसम्म १३ अर्ब ८८ करोड ५१ लाख रहेकोमा यसपालि भदौ मसान्तसम्म आइपुग्दा १३ अर्ब ९८ करोड ९० लाख छ ।
सेयर धितोमा २५ लाखमुनिको कर्जा भने एक वर्षको अवधिमा १.८१ प्रतिशतले घटेको छ । यस्तो कर्जा गत आव भदौ मसान्तसम्म ७ अर्ब १५ करोड ५३ लाख रहेकोमा यो भदौ मसान्तसम्म आउँदा ७ अर्ब २ करोड ५४ लाख छ ।
यो तथ्यांकले सेयर धितोमा ठूलो कर्जा उच्च दरमा बढेको देखिन्छ । तर सानो कर्जा भने घटेको छ । सानाको ऋण लिने क्षमता बढ्नुले पनि यस्तो असर परेको हुन सक्ने बैंकर बताउँछन् । ‘पहिले २५ लाखमुनिको ऋण लिनेले अहिले ठूलो लिन सक्ने क्षमतामा पुगे । अर्को, ब्याज घट्दै जानु र बजारले राम्रो संकेत देखाएपछि ऋण लिन विश्वास बढेको पनि होला’ एक बैंकका प्रमुख कार्यकारी अधिकृतले भने ।
उनका अनुसार अहिले अधिकांश बैंकले १० प्रतिशतभन्दा तलकै दरमा सेयर धितो कर्जा प्रवाह गरिरहेका छन् । सेयर धितो कर्जाको ब्याज आधार दरमा ४ प्रतिशतसम्म थप गर्न सकिने व्यवस्था बैंकहरुले गरे पनि कतिपयले हाल आधार दरकै हाराहारीमा दिइरहेका छन् ।
जुनसुकै कम्पनीको सेयर धितो लिँदैनन् बैंक
जुनसुकै कम्पनीका सेयर धितोमा यस्तो कर्जा दिइँदैन/पाइँदैन । नेगेटिभ नेटवर्थ (१ सयभन्दा कम) भएका, नेपाल स्टक एस्क्चेन्ज (नेप्से) मा सूचीकरण नभएका, आर्थिक वर्ष पूरा भएको एक वर्षसम्म लेखा परीक्षण नगरेका, पछिल्लो तीन वर्षसम्म नोक्सानीमा रहेका, व्यवसायिक सञ्चालनमा आएको एक वर्ष पूरा नभएका, तीन वर्षदेखि साधारणसभा नगरेका कम्पनीका सेयर धितोमा बैंकले यस्तो मार्जिन कर्जा दिन नपाउने व्यवस्था छ । यही आधारमा मार्जिन कर्जा पाउने कम्पनीको सूची नेप्सेले बर्सेनि सार्वजनिक गर्दै आएको छ ।
अर्कातर्फ, कर्जा अवधि एक वर्षभन्दा बढी हुँदैन । सेयर धितोमा मार्जिन प्रकृतिको कर्जा उपभोग गरिरहेका ऋणी आफूले लिएको कर्जाको सम्पूर्ण बक्यौता (ब्याज) भुक्तानी गरी कर्जा नियमित रहेको अवस्थामा मात्रै अवधि सकिएको एक वर्षपछि कर्जा नवीकरण गर्न सकिने व्यवस्था छ ।
कर्जा रकम दिँदा सेयर मूल्यांकन र पाउने रकममा सीमा तोकिएको छ । धितो राखिने सेयरको पछिल्लो १ सय ८० दिनको औसत मूल्य वा पछिल्लो बजार मूल्यमध्ये जुन थोरै हुन्छ, त्यही रकमको ७० प्रतिशत मात्रै बैंकहरूले सेयर धितोमा कर्जा दिने हुन्छ ।
बैंक तथा वित्तीय संस्थाको १ प्रतिशतभन्दा बढी संस्थापक सेयर धारण गरेका संस्थापक समूहका सेयरधनीले आफूले धारण गरेको संस्थापक सेयरमध्ये ५० प्रतिशतभन्दा बढी सेयर धितो राखी कर्जा लिन पाउँदैनन् ।
त्यतिमात्र नभई धितो राखिएको सेयरको मूल्य तल झरे बैंकहरूले धितो थप्न वा कर्जा चुक्ताका लागि मार्जिन कल गर्न सक्छन् ।
– यस समाचारको श्रोत : Online Khabar हो ।