Main

एमाले सांसद दसौंदीको प्रश्न : हामीले कस्तो न्यायालय बनायौं ?

२९ माघ, काठमाडौं । नेकपा एमालेका सांसद कुमार दसौंदीले न्यायालयबाट न्याय पाउन नसकिने भाष्य स्थापित हुँदै गएको र यो दुःखद् बताएका छन् ।

सोमबार राष्ट्रिय सभाको बैठकमा विशेष समय लिएर उनले कस्तो न्यायालय बनाइयो भनी समीक्षा गर्नुपर्ने बताए ।

‘मान्छेले ठान्छ मैले अन्तिम न्याय पाउने ठाउँ न्यायालय हो । तर, हाम्रो न्यायालय र अदालत भनेको कुन विषयमा प्रवेश र्गन हुने हो कुन विषयमा प्रवेश गर्न नहुने हो फैसला के गर्न हुन्छ कुनै मतलब छैन’ उनी प्रश्न गर्छन, ‘हामीले कस्तो बनायौं न्यायालय ?’

राज्यको पुनर्संरचना गर्दा न्यायालयलाई ख्याल नगरिएको उनको भनाइ छ । ‘राज्यको पुनर्संरचना गर्दा तीन तहको सरकार बनायौं । त्यो गर्दा यो न्यायालय त्यही चरित्रको बनाउनु पर्दैन ?’ उनले प्रश्न गरे ।

न्यायालयबाट हुने फैसलाहरुमा प्रश्न उठ्न थाल्नु पनि दुःखद् भएको उनलाई लाग्छ । उनी थप्छन्, ‘आज न्यायालय जे पनि फैसला गरिदिन्छ ? न्यायालयले गर्ने फैसला अन्याय हुन थाल्यो, भ्रष्टीकरण हुन थाल्यो ।’

न्यायालयका सम्बन्धमा नयाँ ढंगले सोच्न आवश्यक भएको उनले बताए । ‘अब यसको सम्बन्धमा नयाँ ढंगले सोच्न पर्छ । न्यायाधीश नियुक्तिमा ख्याल गर्नुपर्छ,’ उनी थप्छन्, ‘भोलि अदालतले सरकारले जस्ता निर्णय गरे पनि उल्टाइदिन्छ त्यसो हुँदा के गर्ने ? फैसला त मान्नै पर्छ ।’

अझ ठुला नेता र ब्यापारी जस्तोसुकै मुद्दामा समेत छुट्छन् भन्ने भाष्य स्थापित हुँदै गएको भनी उनले गम्भीर बन्न नेतृत्वलाई आग्रह गरे । उनी भन्छन्, ‘ठूला नेता जे सुकै गरे पनि छुटिहाल्छ । धनीहरु जे सुकै गरे पनि छुटिहाल्छन् । यस्तो भाष्य निमाण भयो भने जनताको आक्रोश बढ्न सक्छ ।’

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button