कबड्डी सुपर लिगमा आर्मी र पुलिस च्याम्पियन

२५ फागुन, काठमाडौं । नेपाल पुलिस क्लव र त्रिभुवन आर्मी क्लवले कबड्डी सुपर लिग प्रतियोगिताको उपाधि जितेका छन् ।
नेपाल कबड्डी संघको आयोजनामा शुक्रवार सम्पन्न प्रतियोगितामा पुलिसले महिलातर्फ र आर्मीले पुरुषतर्फ कबड्डी लिगको उपाधि जितेका हुन् ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा सम्पन्न फाइनलमा पुलिसले विभागीय प्रतिद्वन्द्वी सशस्त्र प्रहरी बलको एपीएफ क्लवलाई ४०–१३ स्कोरको फराकिलो अन्तरले हराउँदै उपाधि जित्यो ।
पुरुषतर्फ पनि सशस्त्र प्रहरी बलको एपिएफ टोली उपाधि जित्न असफल रह्यो । एपीएफ फाइनलमा विभागीय प्रतिद्वन्द्वी आर्मीसँग ३४–२४ स्कोरको अन्तरले पराजित हुन पुग्यो ।
विजेता पुलिस र आर्मीले २५ हजार रुपैयाँ नगद पुरस्कारसहित ट्रफी प्राप्त गर्यो । एपीएफको महिला र पुरुष दुवै टोलीले १५ हजार रुपैयाँ नगद पुरस्कार चित्त बुझाउनु पर्यो ।
बुधवारदेखि भएको सुरु भएको दुईदिने प्रतियोगितामा पुरुषतर्फ आर्मीका प्रदीप मिजार र महिलामा मानमति बिष्ट उत्कृष्ट खेलाडी घोषित भए । दुवैले ट्रफी प्राप्त गरे ।
मानमति गत १९औं एशियाली खेलकुदमा नेपालको महिला कबड्डी टोलीले कांस्य पदक जित्दाकी सदस्यसमेत हुन् । महिलामा पुलिस, एपीएफ र उपत्यकाले प्रतिष्पर्धा गरेका थिए ।
पुरुषमा आर्मी, एपीएफ, नेपाल पुलिस र उपत्यकाले प्रतिष्पर्धा गरेका हुन् । पुरुष र महिला दुवैमा लिगको शीर्ष दुई टोलीले फाइनलमा प्रतिस्पर्धा गरेका हुुन् ।
प्रतियोगिताका विजेतालाई नेपाल कबड्डी संघका अध्यक्ष तुल्सी थापा र संघका महासचिव अरविन्दकुमार झाले पुरस्कृत गरेका थिए ।
– यस समाचारको श्रोत : Online Khabar हो ।