एकीकृत समाजवादीको पदाधिकारीमा गुटगत चुनाव, माधव नेपाल पक्षले बाँड्यो चिट

११ भदौ, काठमाडौं । नेकपा एकीकृत समाजवादीको पदाधिकारी चयनमा गुटगत प्रतिस्पर्धा भएको छ ।
नयाँ बानेश्वरस्थित एक ब्याङ्क्वेटमा भइरहेको मतदानमा गुटगत प्रतिस्पर्धा देखिएको हो । अध्यक्ष माधवकुमार नेपाल पक्षले पदाधिकारीहरुमा जिताउनुपर्ने नेताहरुको नामावली (चिट) बाँडेको छ ।
सार्वजनिक भएको चिटमा महिला उपाध्यक्षमा रामकुमारी झाँक्रीको नाम राखिएको छ । यो पदमा झाँक्री र जयन्ती राईको प्रतिस्पर्धा छ ।
मधेशी समुदायको उपाध्यक्षमा रामचन्द्र झाको नाम उल्लेख छ । झाको प्रतिस्पर्धामा धर्मेन्द्रप्रसाद साह छन् ।
खुला उपाध्यक्षहरुमा गंगालाल तुलाधर, जगनाथ खतिवडा, उर्वादत्त पन्त र विरोध खतिवडाको नाम समावेश छ । माधव नेपाल पक्षको चिटमा डा.विजयकुमार पौडेल, प्रकाश ज्वाला सहित नेताहरुको नाम समावेश छैन ।
चार उपमहासचिवमा रामकुमार भट्टराई, राजेन्द्रकुमार राई, नागेन्द्र चौधरी र अम्मर थापाको नाम माधव नेपाल पक्षले आफ्नो गुटमा राखेको छ ।
७ सचिवमा हस्तबहादुर शाही, दिलकुमारी पन्त, शेरबहादुर कुँवर, धर्मनाथ पौडेल, श्रीनाथ बराल, टोकबहादुर वाइवा र कृष्ण नेपालीको नाम उल्लेख छ ।
वाइवा आदिवासी जनजाति र कृष्णबहादुर नेपाली दलित समुदाय तर्फको सचिवका उम्मेदवार हुन् ।
– यस समाचारको श्रोत : Online Khabar हो ।