कैलालीमा तालको विषयमा स्थानीय र ठेकेदारबीच विवाद

१० साउन, धनगढी । कैलालीको कैलारी गाउँपालिका–९ मा रहेको कोइलही ताल ठेक्काको विषयलाई लिएर विवाद सिर्जना भएको छ ।
तालको पानीका कारण धान बालीमा क्षति पुगेको भन्दै बुधबार स्थानीयले ठेक्का पाएका व्यवसायीले बनाएका टहरा भत्काएपछि विवाद भएको हो ।
ताल क्षेत्रमा निर्मित दुई वटा टहरा भत्काउने कार्यमा संलग्न रहेको भन्दै इलाका प्रहरी कार्यालय हसुलियाले ८ जना स्थानीयलाई नियन्त्रणमा लिएको थियो ।
उनीहरूलाई नियन्त्रणमा लिएको विरोधमा बिहीबार गाउँपालिका कार्यालय घेराउ गर्न पुगेका स्थानीय र सुरक्षाकर्मीबीच धकेलाधाकल समेत भएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लोकेन्द्र कार्कीले गाउँपालिकाका अध्यक्षसँग कुराकानी गर्ने भन्दै आएका स्थानीयले जबर्जस्ती कार्यालयभित्र प्रवेश गर्न खोजेपछि सामान्य विवाद भएको बताए । सो क्रममा स्थानीय र प्रहरीबीच आपसमा धकेलाधाकल भएको उनले बताए ।
उनकाअनुसार बुधबार स्थानीयले तालमा अनियमितता भएको, ठेकेदारको लापरवाहीका कारण तालको पानीले धान बालीमा क्षति पुगेको भन्दै विरोध जनाउँदै टहरा भत्काएका थिए ।
गाउँपालिकाले उक्त ताल माछापालन प्रयोजनका लागि ठेक्कामा लगाएको छ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।