Main

बागमतीमा उपाध्यक्षसहित ४ वडाध्यक्षले गरे नीति कार्यक्रम बहिष्कार

१० असार, हेटौंडा । मकवानपुरको पूर्वी क्षेत्रस्थित बागमती गाउँपालिकाको नीति, कार्यक्रम गाउँपालिकाका उपाध्यक्षसहित चार वडा अध्यक्षहरूले बहिष्कार गरेका छन् ।

गाउँपालिकाको नीति तथा कार्यक्रम र आठौं गाउँसभामा अध्यक्ष सर्केश घलानले एकलौटी गरेको भन्दै नेपाली कांग्रेस र एमालेका जनप्रतिनिधिहरुले बहिस्कार गरेका हुन् ।

गाउँपालिका उपाध्यक्षसमेत रहेका नेपाली कांग्रेसका फडिन्द्र तिमल्सिना, वडा नम्बर–६ का अध्यक्ष टेकबहादुर डिम्डुङ, वडा नम्बर–७ का अध्यक्ष उत्तरबहादुर भोलन, वडा नम्बर–८ का अध्यक्ष इन्द्रमणि तिमल्सिना (केशव), वडा नम्बर–९ का अध्यक्ष पूर्णराम घलान र कार्यपालिका सदस्य डम्बरबहादुर विकले गाउँसभा बहिस्कार गरे ।

उपाध्यक्ष र वडा अध्यक्षको बहिष्कारका बीच अध्यक्ष सर्केश घलानले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन् ।

गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत झम्कनारायण घलानका अनुसार गाउँपालिकाले नीति तथा कार्यक्रम मात्रै प्रस्तुत गरेको छ । समष्टिगत रुपमा बजेटको आकारसमेत प्रस्तुत नभएको घलानले बताए ।

उनीहरुले टाउकोमा कालोपट्टी बाँधेर गाउँपालिका कार्यालय अगाडि नाराबाजी गर्दै गाउँसभा बहिस्कार गर्दा भित्र अध्यक्ष घलानले भने नीति तथा कार्यक्रम प्रस्तुत गरिरहेका थिए ।

विरोधमा उत्रिएका जनप्रतिनिधिहरुले वडामा सिलिङ बजेटको व्यवस्थापन गर्नुपर्ने, उपाध्यक्ष र वडाध्यक्षको हक अधिकारमा हस्तक्षेप गर्न नहुने, गाउँपालिकाले करार कर्मचारी नियुक्ति गर्दा प्रदेश र संघको बजेट प्रयोग गर्न नपाउने, करार कर्मचारी नियुक्ति गरेमा आन्तरिक स्रोतबाट तलबभत्ता दिनेगरी नियुक्त गर्नुपर्ने, क्रसर उद्योगको नाममा विनियोजन गर्दै आएको बजेट कटौती गर्नुपर्ने माग विज्ञप्तिमार्फत राखेका छन् ।

बागमती गाउँपालिकाको ९ वटा वडामा बजेट सिलिङ नै नपठाई आगामी आवको नीति, कार्यक्रम र बजेट प्रस्तुत गर्न खोजिएपछि विरोध भएको हो । प्रमुख घलानले वडामा यसअघि सिलिङ नपठाएको बताए ।

स्रोत अनुमान समितिको बैठकबाट तोकिएपछि मात्रै सिलिङ पठाउने तयारी गरेको प्रमुख प्रशासकीय अधिकृत घलानले बताए । बजेट निर्माण सम्बन्धी चार वटा बैठक राखेर पनि सञ्चालन हुन नसकेको उनको भनाई छ । सोमबार बिहानको कार्यपालिका बैठक पनि बस्न सकेन।

बागमतीले बजेट प्रस्तुतका लागि अर्को बैठक तय गरिनसकेको प्रमुख प्रशासकीय अधिकृत घलानले बताए । बागमती गाउँपालिकाको १ देखि ५ नम्बर वडामा माओवादी केन्द्रबाट वडा अध्यक्ष निर्वाचित छन् । ६, ८ र ९ नम्बर वडामा एमाले तथा उपाध्यक्ष र ७ नम्बर वडा अध्यक्ष कांग्रेसबाट निर्वाचित भएका थिए ।

बागमती गाउँपालिकामा हरेक वर्षको बजेट प्रस्तुतमा जनप्रतिनिधिबीच विवाद हुने गरेको छ । अध्यक्ष घलानको पहिलो कार्यकालमा पटक–पटक गाउँसभा विवादमा पर्ने गरेको थियो । घलान दुवै पटक नेकपा माओवादी केन्द्रबाट अध्यक्षमा निर्वाचित भएका हुन् ।

२०७४ मा एमालेसँगको गठबन्धन र २०७९ मा कांग्रेससँगको गठबन्धनबाट घलान अध्यक्ष बनेका थिए । यसअघिको कार्यकालमा एमालेबाट निर्वाचित उपाध्यक्ष धनमाया स्याङ्तानसहितका जनप्रतिनिधिहरुले अधिकांश गाउँसभा बहिस्कार गरेका थिए । कांग्रेसबाट निर्वाचित हालका उपाध्यक्ष फडिन्द्र तिमल्सिनाले दुवै पटकको बजेट प्रस्तुत बहिष्कार गरिसकेका छन् ।

चालू आव २०८०/८१ को बजेट ल्याउने गाउँसभामा उपाध्यक्ष तिमल्सिना अनुपस्थित भएपछि अध्यक्ष घलानले बजेट पढेको प्रमुख प्रशासकीय अधिकृत घलानले जानकारी दिए ।

आर्थिक वर्ष २०७७/७८ मा पनि १० असारमा नभई २० असारमा मात्रै बजेट प्रस्तुत भएको थियो । जिल्लाका ९ वटै पालिकाले १० असारमा बजेट ल्याउँदा बजेटकै लफडाका कारण १० दिनपछि बागमतीले बजेट प्रस्तुत गरेको थियो ।

त्यतिबेला नेपाली कांग्रेस विरोधमै उत्रिएको थियो । बजेट नसच्याए विरोध प्रदर्शन गर्ने चेतावनीसहित कांग्रेसले अध्यक्ष सर्केश घलानलाई ध्यानाकर्षण पत्रसमेत बुझाएको थियो । २०७८ सालमा तत्कालीन उपाध्यक्ष धनमाया स्याङ्तानले अध्यक्षले एकलौटी ढंगले काम गरेको भन्दै बजेट सिलिङको बैठक ‘नोट अफ डिसेन्ट’ लेखेर बहिष्कार गरेकी थिइन् ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button