Main

अष्ट्रेलियामा विश्वप्रकाशले भने- देशभित्र र बाहिरका नेपालीको हातेमालोले मात्रै नेपाल बन्छ

सिड्नी । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले देशभित्र र बाहिर रहेका नेपालीको हातेमालोले मात्रै नेपाल बन्नसक्ने बताएका छन् । नेपाल अष्ट्रेलिया प्रजातान्त्रिक मञ्च (एनएडीएफ)ले सिड्नीमा आयोजना गरेको कार्यक्रममा उनले नेपालको राजनीतिमा समस्या भएपनि संकट भने नभएको दाबी गरे ।

संघीय सांसदसमेत रहेका शर्माले भने, ‘लोकतन्त्रमा सरकार फेरिने वा भत्किने क्रम स्वभाविक हुन्छ । यो कुरालाई लिएर प्रवासमा नेपाल खत्तम भयो । अब नेपालमा केही हुन सक्दैन भन्ने जस्ता नकारात्मक विचार मनमा नराख्न प्रवासी नेपालीहरुलाई आग्रह गर्दछु ।’

उनले नेपालबाहिर समेत नेपाल रहेको आफूलाई महसुस भएको बताए । ‘नेपालमा रहेका नेपाली र नेपाल बाहिर रहेका नेपालीहरूको साथ र हातले मात्र नेपाल बन्नेछ । तपाईंहरूले प्रवासमा सिकेको सीप र ज्ञानलाई राज्यले नेपाल भित्र्याउन भावनात्मक कुरा गरेर मात्र हुँदैन,’ शर्माले भने, ‘राज्यले ठोस खाका तयार पारेपछि मात्र प्रवासमा रहनुहुने नेपालीहरूलाई स्वदेश फर्कन आह्रवान गर्नुपर्छ ।’

शर्माले पार्टी राजनीतिमा एकले अर्कोलाई आरोप-प्रत्यारोप गरेर मात्र अगाडि बढ्न नसक्ने बताए । अहिले नेपालीहरुले ताजा नेतृत्व खोजिरहेको भन्दै उनले जनचाहना अनुरूप हिंड्न नसक्नेहरु असफल हुने बताए ।

कार्यक्रममा नेपाली कांग्रेसका सहमहामन्त्री भीष्मराज आङ्देम्बेले प्रवासमा नेपाली-नेपालीबीचको आपसी सम्बन्ध, साथ र सहयोगबाट नेपालका नेताहरूले पनि सिक्नुपर्ने बताए ।

कार्यक्रममा मञ्चका पूर्वअध्यक्षहरुलाई सम्मानसमेत गरिएको थियो ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button