Main

सहमतिपछि मिटरब्याज पीडितलाई भेट्न भृकुटीमण्डप जाँदै गृहमन्त्री लामिछाने

२८ फागुन, काठमाडौं । ४२ दिनदेखि आन्दोलनरत मिटरब्याज पीडितलाई भेट्न उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछाने भृकुटीमण्डप जाने भएका छन् ।

सिंहदरबारमा पीडितका तर्फबाट मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समितिका अध्यक्ष अवधेश कुशवाह र सरकारी वार्ता टोलीका संयोजक सहसचिव रुद्रप्रसाद पण्डितले ४ बुँदे सहमतिमा हस्ताक्षर गरेका छन् ।

सहमतिमा हस्ताक्षर भएलगत्तै उनले आफू भृकुटीमण्डपमा गएर पीडितलाई भेट्न लागेको बताए ।

‘मिटरब्याज पीडितलाई भेट्न म आफैं भृकुटीमण्डप जाँदैछु, उहाँहरुलाई मिठाइ खुवाउनेछु’, उनले भने, ‘जति दुःख पाउनुभयो त्यसका लागि क्षमा पनि माग्न चाहन्छु ।’

उनले सञ्चारकर्मी हुँदा आफूले सबैभन्दा धेरै चासोका साथ उठान गरेको विषयमा भाग्यले गृहमन्त्री हुँदा आफैं समाधानको साक्षी बन्न पाउँदा खुशी लागेको समेत बताए ।

लामिछानेले आन्दोलरत मिटरब्याज पीडितलाई आइतबार छलफलका लागि सिंहदरबारमा बोलाएका थिए । उनी आफैंले पीडितहरुको कुरा सुनेका थिए भने सोमबार सहमति भएको हो ।

मिटरब्याज पीडितका लागि भन्दै पूर्वबाट कुशवाहको नेतृत्वमा ५०० र पश्चिमबाट निर्ग नवीनको नेतृत्वमा २०० जना पीडित पैदल मार्च गरेर काठमाडौंसम्म आएका थिए । काठमाडौं आएपछि पनि उनीहरुको विरोध प्रदर्शन जारी थियो ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button