पुरुष सौन्दर्य प्रतियोगिता ‘म्यान अफ दी इयर २०२४’ को आवेदन खुला

काठमाडौं । पुरूष सौन्दर्य तथा बौद्धिकता जाँच गर्ने प्रतियोगिता ‘म्यान अफ दी इयर २०२४’ को अडिसन खुला भएको छ । आयोजक ‘यू क्यान फ्लाई फेसन प्रालि’ले प्रतियोगिताको अडिसन आह्वान गरेको हो ।
देशव्यापी अडिसनपछि छनोट भएका प्रतियोगीले फिनालेमा भाग लिने आयोजकले जनाएको छ । काठमाडौं, चितवन, पोखरा, बुटवल, मोरङको विराटचोक र विराटनगरमा अडिसन स्थान तोकिएको छ । इसेवा मार्फत आवेदन खुला गरिएको छ ।
अगस्ट ३१ मा काठमाडौंदेखि अडिसन सुरु हुने जनाइएको छ । सेप्टेम्बर ५ मा चितवन, सेप्टेम्बर ७ मा पोखरा, सेप्टेम्बर ८ मा बुटवल र सेप्टेम्बर १० मा काठमाडौंमा दोस्रो अडिसन हुनेछ । मोरङको विराटचोकमा सेप्टेम्बर १२ र विराटनगरमा सेप्टेम्बर १४ लाई अडिसन मिति तोकिएको छ ।
प्रतियोगिताको दूतमा अभिनेता अनुपविक्रम शाही छन् । कोरियोग्राफरमा अभिनेता समेत रहेका प्रशान्त ताम्राकार छन् । मोडलिङ र फेसनको दुनियाँमा भविष्य खोजिरहेका युवालाई स्थान दिने उद्देश्यले प्रतियोगिता गर्न लागिएको आयोजक संस्थाकी प्रबन्ध निर्देशक स्वीकृति प्याकुरेलले बताइन् ।
फिनाले नोभेम्बर २८ मा काठमाडौंमा हुनेछ । विजेताले नगद ७ लाख रूपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । नोभेम्बरमा थाइल्याण्डमा आयोजना हुने ‘म्यान अफ दी वर्ल्ड २०२४’ मा नेपालको प्रतिनिधित्व गर्ने आयोजक संस्थाका संस्थापक संसद शाहले बताए ।
– यस समाचारको श्रोत : Online Khabar हो ।