Main

जब रातारात चोरियो तलाउ अनि बनाइयो झुपडी

छिमेकी मुलुक भारतको बिहारस्थित दरभंगा जिल्लामा एउटा अनौठो घटना भएको छ । त्यहाँ एउटा तलाउ रातारात चोरी भएको छ र पहिले तलाउ भएको त्यस ठाउँमा झुपडी बनाइएको छ ।

समाचार अनुसार उक्त तलाउलाई स्थानीयहरुले माछा मार्न तथा खेतीपातीमा पानी लैजानका लागि प्रयोग गर्दथे । तर त्यसलाई रातारात बालुवाले पुरियो र त्यस क्षेत्रमा एउटा सानो झुप्रो ठड्याइयो ।

यो मामिलामा स्थानीय बासिन्दाहरुले स्थानीय प्रशासनमा उजुरी दिएका छन् ।

प्रहरी अनुसन्धानका क्रममा उक्त तलाउ भूमाफियाहरुले चोरेर पुरेको र त्यसमाथि घर बनाएको पत्ता लागेको छ । स्थानीय बासिन्दाहरुले रातको समयमा ट्रक तथा भारी मेसिनरीको आवाज सुनेपछि प्रहरीलाई सूचित गरेका थिए ।

यो घटनाबाट स्थानीय मानिसहरु क्रुद्ध बनेका छन् । तलाउ हराएपछि स्थानीय बासिन्दाका लागि जलसंकट सुरु भएकेा छ ।

इन्टरनेटमा भाइरल भइरहेको दृश्यमा त्यस ठाउँमा एउटा नयाँ झुपडी बनेको देखिन्छ । भारी मेसिनेरीको सहयोगले उक्त क्षेत्रलाई समतल गराएर त्यहाँ तलाउ भएको सबूत नै मेटाउने काम भूमाफियाहरुले गरेका छन् ।

प्रहरी प्रशासनले यो घटनाको अनुसन्धान गरिरहेको बताइएको छ । दरभंगामा जग्गाको बढ्दो मूल्यसँगै उक्त सार्वजनिक तलाउमा माफियाको आँखा लागेको बताइएको छ । यसअघि पनि सो तलाउ पुर्ने प्रयास पटक भएको भएको थियो र प्रशासनले त्यहाँबाट विभिन्न उपकरणहरु बरामद गरेको थियो । तर यसपटक भने माफियाहरुले रातको अँध्यारोमा तलाउ पुर्न सफल भए ।

स्मरण रहोस् भारतको बिहार अनौठा तथा अपत्यारिला खालका चोरीचकारीका लागि कुख्यात छ । बिहारको बेगुसरायस्थित रेलवे यार्डबाट चोरहरुले सुरुंग नै खनेर पूरै डिजेल इन्जिन चोरेका थिए भने रोहतास जिल्लामा चोरहरुले रातारात ६० फिट लामो पुल नै काटेर लगेका थिए ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button