राष्ट्रिय खेल संघ सबलीकरण कार्यक्रम सुरु

४ जेठ, धुलिखेल । राष्ट्रिय खेलकुद परिषद् (राखेप)को आयोजनामा राष्ट्रिय खेल संघ सबलीकरण कार्यक्रम काभ्रेको धुलिखेलमा शुक्रबार सुरु भएको छ ।
राष्ट्रिय खेल संघहरू सक्रिय बनाउन र खेलकुदको विविध पक्षको बारेमा जानकारी गराउने उद्देश्यले खेल संघ सबलीकरण कार्यक्रम आयोजना गरिएको हो ।
नेपाली खेलकुदलाई अझ अग्रगतिमा लैजाने उद्देश्यका साथ कार्यक्रमको आयोजना गरिएको राखेपका सदस्य सचिव टंकलाल घिसिङले जानकारी दिए । सदस्य सचिव घिसिङले तीन दिने कार्यक्रमबाट नेपाली खेलकुदलाई मार्गनिर्देशन गर्ने नयाँ विचार आउनेमा आशावादी रहेको बताए ।
आफू सदस्य सचिव हुँदा २०९ खेल संघ रहेकोमा त्यसलाई घटाएर अहिले ६१ मा झारेको भन्दै घिसिङले कतिपय खेल संघले अझै खेलकुद ऐन अनुसार काम गर्न बाँकी रहेको बताए ।
युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठले कार्यक्रमपछि नेपाली खेलकुदमा नयाँ सोच र विचार आउने आशा व्यक्त गरे । मन्त्री श्रेष्ठले कार्यक्रमबाट संघहरूले नीतिगतदेखि सबै विषयमा सुझाव दिनुपर्ने बताए ।
राखेपका उपाध्यक्ष शिव कोइराला ज्वालाले खेल संघहरू सबल, व्यवस्थित हुनुपर्ने धारणा राखेका छन् ।
नेपाल ओलम्पिक कमिटीका महासचिव तथा नेपाल ट्रायथलन संघका अध्यक्ष निलेन्द्रराज श्रेष्ठले खेल संघको अवस्था संघर्षपूर्ण रहेको अवस्थामा राखेपले सबै खेल संघलाई बोलाएर यस किसिमको कार्यक्रम गरेकोमा धन्यवाद दिए ।
कार्यक्रमको पहिलो दिन शुक्रबार वरिष्ठ अधिवक्ता ताराबहादुर सिटौलाले नेपालको संविधान, खेलुकदसँग सम्बन्धित कानुन र खेल संघको दायित्व तथा कर्तव्य विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए ।
यसैगरी शनिबार ८ तथा आइतबार २ विषयमा कार्यपत्र प्रस्तुत हुनेछ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।