धनगढीमा रात्रीकालीन बजारसहितको उद्यान बनाइने

१७ पुस, धनगढी । सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा रात्रीकालीन बजारसहितको उद्यान (पार्क) बन्ने भएको छ ।
धनगढी उपमहानरपालिका–१ मा रहेको भीम उद्यानलाई रात्रीकालीन बजारसहित स्तरीय र आधुनिक बनाउन डीपीआर तयार गरिएको जनाएको छ ।
नगर प्रमुख गोपाल हमालले कम्तीमा पाँच सय जना युवालाई प्रत्यक्ष आयआर्जनमा जोड्ने गरि रात्रीकालीन बजारसहितको उद्यान सञ्चालन गर्न विस्तृत परियोजना प्रतिवेदन डीपीआर तयार गरेको जानकारी दिए ।
उनकाअनुसार संघीय सहरी विकास मन्त्रालय र नगर विकास कोषको ऋण सहयोगमा करीब ३६ करोड रुपैयाँको लागतमा उद्यान निर्माण गर्ने प्रस्ताव गरिएको छ ।
दुई वर्षभित्र निर्माणको कार्य सम्पन्न गरेर धनगढी उपमहानगरपालिकाले नगर विकास कोषलाई १७ वर्षमा ऋण चुक्ता गर्ने प्रस्ताव समेत रहेको हमालले बताए ।
उद्यानभित्र जेष्ठ नागरिक पार्क, बालबालिक पार्क, युवा पार्क, म्युजिकल फाउन्टेन र लेजर सो हल बनाइनेछ ।
लेजर सो हलमा सुदूरपश्चिमका सामाजिक धार्मिक धरोहर, पर्यटकीय स्थल, खानाका परिकार, स्थानीय भेषभूषा र संस्कृति चिनाउने भिडियो र तस्वीरहरू प्रत्येक साँझ प्रस्तुत गर्ने योजना समेत बनाइएको उपमहानगरपालिकाले जनाएको छ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।