Main

काठमाडौंमा पहिलोपटक गुञ्जिँदै कन्दरा, जनवरीदेखि वर्ल्ड टूरको घोषणा

काठमाडौं । लोकप्रिय लोकपप-रक ब्याण्ड कन्दराले यसवर्ष ३२ औं वर्षगाँठ मनाउँदैछ । यो छेकोमा पोखरेली सांगीतिक समूह ‘पहिले घरदेश, अनि परदेश’ अभियानमा निस्किएको छ ।

३ दशक लामो इतिहास बोकेको ब्याण्ड केही पहिले तालनगरी पोखरामा गुञ्जियो । अब भने २४ कात्तिकमा काठमाडौंमा गुञ्जिने भएको छ । ठमेलस्थित एलओडी क्लबमा प्रशंसकले आफ्नो प्रिय ब्याण्डको मिठास सुन्न पाउनेछन् । ब्याण्ड स्थापनायता काठमाडौंमा गुञ्जिन लागेको यो पहिलो अवसर हो ।

‘३२ वर्षमा पहिलोपटक हामी काठमाडौंमा गुञ्जिँदैछौं । राजधानीको प्रस्तुति अविष्मरणीय बन्ने निश्चित छ’ ब्याण्डका अगुवा तथा भोकलिस्ट विवेक श्रेष्ठले शुक्रबार सानेपामा आयोजित पत्रकार सम्मेलनमा भने । ब्याण्डले राजधानीमा हुने कन्सर्टलाई ‘काठमाडौं कलिङ’ नाम दिएको छ ।

‘हामी ३२ वर्ष बुढो भैसक्या रहेछौं । यी कुरा हजुरहरुलाई सुनाउन पनि जरुरी छ । नयाँ पुस्तासँग पनि जोडिने मौका हो यो’ उनले भने, ‘ब्याण्डको पुनर्संरचनापछि हामी अब नयाँ लय र तयारीसँग प्रशंसकमाझ आउँदैछौं ।’

९० को दशकको चर्चित ब्याण्डले काठमाडौंपछि चितवन, बुटवल र नेपालगञ्जमा पनि सांगीतिक प्रस्तुति दिँदैछ । जहाँ, दर्शकले ब्याण्डका सदाबहार हिटसँगै नयाँ गीत पनि सुन्न पाउनेछन् । तीन सहरको मिति पनि तय हुन बाँकी रहेको विवेकले बताए ।

ब्याण्ड यतिबेला नयाँ र पुराना सदस्यलाई संगठित गर्दै जुर्मुराएको छ । भोकलमा विवेक स्वयम छन् भने ड्रम्समा सुनिल थापा छन् । थापा स्थापनाकालदेखि ब्याण्डका मेरुदण्ड हुन् । लिड गिटारमा देव लामा, बास गिटारमा पंकज झा, मादलमा अविनाश गायक, किबोर्डमा उमेश थापा छन् ।

‘म स्वयम कन्दराको फ्यान हुँ । यो गौरवशाली समूहसँग जोडिएर काम गर्ने अवसर पाउँदा उत्साहित छु’ डेढ दशकदेखि गिटारवादकको रुपमा कार्य गर्दै आएका लामाले पत्रकार सम्मेलनमा भने ।

नेपाल टूरका लागि ब्याण्डले आर्बिट्युरी, आरएसभीपी र वायर्स म्युजिकसँग मिलेर कार्य गर्दैछ । ‘यी कम्पनीसँगको सहकार्यमा हामी नयाँ पुस्तासँग जोडिने अवसर पनि पाउँछौं’ विवेकले भने । भोटिङ पार्टरनको रुपमा खल्ती रहेको छ ।

वर्ल्ड टूरको घोषणा

‘पहिला घरदेश अनि परदेश’ अभियान चलाएको ब्याण्डले उक्त प्रेसमिटमा विश्व टूरको घोषणा गरेको छ । सन् २०२५ को जनवरीमा बेलायत र दुबईदेखि वल्र्ड टूर सुरु हुनेछ ।

फेब्रुअरीमा जापान, मार्च र अप्रिलमा अष्ट्रेलिया र न्युजिल्याण्ड, मेमा अमेरिका, जुनमा क्यानडा र जुलाईदेखि अगस्टसम्म युरोप भ्रमण तय भएको छ । महिना तय भएपनि यकिन मिति भने तय हुन बाँकी रहेको जनाइएको छ ।

७ अमेरिकी सहरमा टूर हुने निश्चित भएको छ । ‘यस अन्तर्राष्ट्रिय भ्रमणले नेपालको समृद्धि सांस्कृतिक सम्पदा र यसको विकसित हुँदै गैरहेको संगीत क्षेत्रलाई प्रतिनिधित्व गर्ने कन्दराको कालजयी गीतहरुको साथै नयाँ सिम्फोनीलाई पनि विश्वब्यापी दर्शकमाझ लैजान्छ’ ब्याण्डले भनेको छ ।

आन्तरिक पर्यटन प्रवर्धनको उद्देश्य

कन्दराले यस अभियानलाई आन्तरिक पर्यटन प्रवर्धनसँग जोड्न चाहेको छ । यसको सुरुवात पर्यटन राजधानी पोखरादेखि सुरु भएको छ । गण्डकी प्रदेश र पोखरा महानगरपालिकाले ब्याण्डसँग सहकार्य पनि गरेका छन् ।

आन्तरिक पर्यटन प्रवर्धनको उद्देश्यले सातै प्रदेशमा यस्तो कार्यक्रम गर्न लागिएको ब्याण्डका अगुवा विवेकले बताए । ‘अबको कार्यक्रम फगत सांगीतिक मात्र नहोस् भनेर हामी सचेत छौं’ उनले भने, ‘नेपालसँग भएको ठूलो हतियार भनेको पर्यटन हो । विदेशी पर्यटकको मात्र मुख ताकेर मात्र हुँदैन । आन्तरिक पर्यटकले मात्र पर्यटनलाई चलायमान बनाउन सक्छन् भन्ने मान्यतामा हामी विश्वस्त छौं ।’

उनले संगीतलाई पर्यटनसँग जोड्नेतर्फ कन्दरा लागेको बताए । ‘धरानबाट भोजपुर जाऊँ, भोजपुरबाट धनकुटा जाऊँ, धनगढीको मान्छेलाई चितवन घुमाउन लिएर जाऊँ भन्ने खालको क्याम्पेन हो’ विवके भन्छन्, ‘हामी जति ठाउँमा कन्सर्ट गर्न जान्छौं, त्यहाँ पहिला घरदेश अनि पछि परदेशको कुरा राख्छौं ।’

यो नारालाई विश्व भ्रमणमा पनि लिएर जाने तयारी छ । ‘विदेशमा पनि बाहिर बस्ने नेपाली र उनीहरुको साथीलाई पहिला आफ्नो देश घुम्न जाऊँ, पहिला नेपाल घुमौं, त्यसपछि स्विटजरल्याण्ड, युरोप घुमौं भन्ने अभियानमा लागिपरेका छौं’ उनले भने ।

यो अभियानलाई एकवर्षसम्म चलाउने कन्दराको योजना छ । यसबाहेक नयाँ पुस्तासँग जोडिन पनि ब्याण्ड लागिपरेको पत्रकार सम्मेलनमा विवेकले बताए । यसका लागि नयाँ पुस्ताका संगीतकर्मीसँग मिलेर काम गरेका आर्बिट्युरी, वायर्स म्युजिक र आरएसभीपीसँग सहकार्य गर्न लागेको उनले बताए ।

पोखरामा स्थापना भएको यो ब्याण्डले लेककी हे माया, हङकङ पोखरा, तगारोमा रुमाल राखी, भेडी गोठैमा, फूलचोकीको डाँडैमाजस्ता हिट गीत दिएको छ । चाँडै नयाँ गीत र एल्बमसहित आउने योजना रहेको ब्याण्डले जनाएको छ ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button