कांग्रेस नेतृत्वको डिफेन्स गर्न सक्दिन : प्रदीप पौडेल

१४ पुस, काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले अहिलेकै अवस्थामा पार्टी नेतृत्वको प्रतिरक्षा गर्न नसकिने बताएका छन् ।
शनिबार पार्टी कार्यालय सानेपामा केन्द्रीय समितिको बैठकमा बोल्दै उनले कांग्रेससँग देशलाई कता लैजाने भन्ने ठोस योजना र रणनीति नभएको भन्दै उनले मन्त्रीहरुको कार्यसम्पादनमा पनि सन्तुष्ट हुन नसकिने बताएका हुन् ।
‘सरकारले काम पनि नगर्ने, आफ्नो पालो आउँदा समर्थन पनि प्राप्त हुँदैन भन्ने डरले केही पनि नगर्ने हो भने ८४ को निर्वाचनमा कांग्रेस पत्तासाफसमेत हुनसक्छ’, पौडेलले भने, ‘कांग्रेसले देशलाई कता लैजाने भन्ने ठोस योजना र रणनीति नल्याएसम्म र अहिलेकै अवस्थामा कम्तीमा म कांग्रेस नेतृत्वलाई डिफेन्स गर्न सक्दिनँ ।’
भ्रष्टाचार अन्त्य र सुशासन कायम गर्न आफैंमाथि छानबिन गर्न तयार हुनुपर्ने भन्दै नेता पौडेलले प्रश्न गरे, ‘बिडम्बना, अहिले जनताले हामीलाई भ्रष्टाचारमा मुछिएको पार्टी भनेर बुझ्छन् कि भ्रष्टाचार अन्त्य गर्ने अभियान छेडेको पार्टी भनेर ?’
ललितपुरको बालकुमारीमा २ जनाको मृत्यु हुने गरी भएको आन्दोलनमा युवा आक्रोश देखिएको भन्दै उनले कांग्रेसले जनताको प्रश्न सामना गर्न सक्ने भएर अगाडि बढ्नुपर्ने बताए ।
कांग्रेसका मन्त्रीहरुले प्रस्तुत गरेको प्रगति प्रतिवेदन पनि बाध्य भएर बनाइएका प्रतिवेदनजस्तो मात्र भएको बताए । ‘हाम्रा मन्त्रीहरुले ल्याउनु भएको प्रतिवेदनमा उल्लेख भएअनुसार जनताले आभास गर्ने गरी प्रगति भएको छ त ?’ उनले प्रश्न गरे ।
पौडेलले बैठकमा कांग्रेसबाट सरकारमा प्रतिनिधित्व गर्ने मन्त्रीहरुलाई प्रश्न गरे, ‘स्वास्थ्य बीमालाई सबै जनतामाझ लैजान कसरी सकिन्छ ? न्याय क्षेत्रको बेथिति कसरी अन्त्य गर्न सकिन्छ ? खेलकुदको विकास कसरी गर्न सकिन्छ ? शहरी र पूर्वाधार विकासको जग कसरी हाल्न सकिन्छ ? सरकारमा रहनुभएका साथीहरुले यस विषयमा कुनै योजना ल्याउनुभएको छ ?’
– यस समाचारको श्रोत : Online Khabar हो ।