दैलेखमा चट्याङ लागेर बालिकाको मृत्यु

१७ चैत, सुर्खेत । चट्याङ लागेर दैलेखमा एक बालिकाको मृत्यु भएको छ । शनिबार दिउँसो हावाहुरी, असिना पानी र चट्याङ पर्दा भैरवी गाउँपालिका- ६ तोरीमूलकी १२ वर्षीया शर्मिला कँडेलको मृत्यु भएको हो ।
चट्याङ परी घाइते भएकी उनको दुल्लु अस्पतालमा उपचार सम्भव नहुने भएपछि प्रदेश अस्पताल सुर्खेत पठाइएको थियो । सुर्खेत लैजाँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी प्रहरी निरीक्षक दीपक मगराठीले जानकारी दिए ।
‘एक्कासी परेको चट्याङले बालिका गम्भीर घाइते भएकी थिइन् । उपचारका लागि प्रदेश अस्पताल सुर्खेत लिँदै गर्दा बाटोमै मृत्यु भएको छ’ प्रहरी निरीक्षक मगराठीले अनलाइनखबरसंग भने ।
प्रहरीका अनुसार चट्याङ लागेर सोही ठाउँमा एउटा बाख्रा पनि मरेको छ । हावाहुरी र असिना पानीले विशेषगरी गहुँ, जौ, तरकारी लगायत हिउँदे बालीनालीमा समेत क्षति पुर्याएको प्रहरीले जनाएको छ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।