विराटनगरका विदेशी खेलाडी : कीर्तिमानी गप्टिलदेखि एसोसिएटका अनुभवी

११ मंसिर, नेपाल क्रिकेट संघ क्यानको आयोजनामा हुन लागेको फ्रेन्चाइज क्रिकेट प्रतियोगिता नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिता आगामी मंसिर १५ गतेदेखि पुस ६ गतेसम्म काठमाडौंको कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा सुरू हुँदै छ ।
८ टोलीको सहभागिता रहने प्रतियोगितामा कोशी प्रदेशबाट प्रतिनिधित्व गर्ने टिमको रूपमा विराटनगर किंग्स छ ।
यस टिमको मार्की खेलाडीका रुपमा नेपाली राष्ट्रिय टोलीका पूर्वकप्तान थता लेगस्पीनर सन्दीप लामिछाने छन् । उनीसँगै टोलीमा नेपाली राष्ट्रिय टोलीका ब्याटर लोकेश बम तथा युवा बलर प्रतिश जिसी पनि छन् ।
त्यसैगरी टिमको प्रशिक्षकमा आयरल्याण्डका पूर्वखेलाडी केभिन ओ ब्रायन छन् । आयरल्याण्डबाट दुईपटक विश्वकप खेलिसकेका ब्रायनले यसअघि नेपालमा भएको एभरेस्ट प्रिमियर लिग (इपीएल) खेलेका थिए । उनी पहिलो पटक फ्रेन्चाइज टिमको प्रशिक्षक बनेर नेपाल आएका हुन् ।
एनपीएलका लागि हरेक टिमले कम्तिमा चार खेलाडी अनुबन्ध गर्नुपर्ने प्रावधान छ । खेलाडीको उपलब्धता हेरेर ६ जनासम्म विदेशी खेलाडी टोलीले अनुबन्ध गर्न पाउँछ ।
विराटनगरले हालसम्म पाँचजना विदेशी खेलाडी अनुबन्ध गरेको छ जसमा न्युजिल्याण्डका कीर्तिमानी ब्याटरदेखि एसोसियटका अनुभवी खेलाडीसम्म छन् । विराटनगरमा न्युजिल्याण्डका मार्टिन गप्टिल, ओमानका आकिब इलियास, क्यानडाका निकोलस किर्टन, स्कटल्याण्डका क्रिस सोल र अफगानिस्तानका इस्मत आलम छन् ।
कस्ता छन् विराटनगरका विदेशी खेलाडी ?
मार्टिन गप्टिल
न्युजिल्याण्डका कीर्तिमानी ब्याटर गप्टिल ओपनिङमा खेल्ने गर्छन् । ३८ वर्षीय दाँयाहाते ब्याटरले न्युजिल्याण्डको राष्ट्रिय टोलीबाट ३५० भन्दा धेरै खेल खेलिसकेका छन् र धेरै अनुभव भएका खेलाडी हुन् ।
उनले न्युजिल्याण्डका लागि टी२०आईमा १२२ खेल खेल्दा २ शतकसहित ३५०० भन्दा धेरै रन बनाइसकेका छन् । उनी १३५ भन्दा माथिको स्ट्राइक रेटले खेल्ने गर्छन् । त्यसैगरी सबैखाले टी२०मा ३४७ खेल खेल्दा ६ शतकसहित ९७०० भन्दा धेरै रन बनाइसकेका छन् ।
उनले आइपीएल, बीबीएल, पाकिस्तान सुपर लिग, क्यारेबियन प्रिमियर लिग, भाइटालिटी ब्लास्ट, इन्टरनेशनल लिग खेलिसकेका छन् ।
गप्टिलले सन् २०१५ को एकदिवसीय विश्वकपमा अविजित रहँदै २३७ रन बनाएका थिए । यो एकदिवसीय विश्वकपमा उच्च स्कोरको कीर्तिमान हो ।
आकिब इलियास
ओमानका हालको कप्तान रहेका ३२ वर्षीय आकिबले अलराउण्डरको रूपमा खेल्ने गर्छन् । एसोसियटका उत्कृष्टमध्येका एक उनी नेपालमा परिचित खेलाडी हुन् ।
दाँयाहाते ब्याटिङ गर्ने आकिबले ओमानका लागि टी२०आईमा ५६ खेलमा १३३० रन बनाएका छन् भने स्पीन बलिङमार्फत ४७ विकेट पनि लिएका छन् । त्यसैगरी सबैखाले टी२०मा ६० खेलमा १५०७ रन बनाएका छन् भने ५२ विकेट लिएका छन् ।
उनले कीर्तिपुरमा नेपालसँगै भएको एकदिवसीय खेलमा शतक प्रहार गरेका थिए भने त्यसलगत्तै अमेरिकासँग पनि शतक हानेका थिए ।
निकोलस किर्टन
क्यानडाको टोलीका हालका कप्तान २६ वर्षीय किर्टन ब्याटिङ अलराउण्डरका रूपमा खेल्छन् ।
बाँयाहाते ब्याटिङ गर्ने किर्टनले लिस्ट ए मा ५६ खेल खेल्दा १३२८ रन बनाएका छन् भने ७ विकेट लिएका छन् ।
त्यसैगरी क्यानडाका लागि टी२०आईमा २५ खेल खेल्दा ५६४ रन बनाएका छन् । सबैखाले टी२०आईमा उनले २८ खेलमा ५९० रन बनाएका छन् ।
उनले क्यारेबियन प्रिमियर लिगमा जमैका तलाहवाजबाट खेलेका छन् ।
क्रिस सोल
स्कटल्याण्डका ३० वर्षीय बलर सोल स्कटल्याण्डको यू-१३ तथा यू-१९ टोलीबाट खेलिसकेका खेलाडी हुन् ।
उनले स्कटल्याण्डको सिनियर टोलीका लागि एकदिवसीयमा ३१ खेल खेल्दा ५३ विकेट तथा टी२०आईमा १७ खेलमा १५विकेट लिएका छन् ।
सबैखाले टी२०मा २४ खेल खेल्दा २२ विकेट लिएका छन् । उनी एसोसियटमा १५० किमीको गतिमा बल फाल्ने कमै खेलाडीमध्ये पर्छन् ।
सोलले क्यारेबिन प्रिमियर लिग, भाइटालिटी ब्लास्ट र इन्टरनेशनल लिग टी२०मा केही खेलहरू खेलेका छन् ।
इस्मत आलम
अफगानिस्तानका २२ वर्षीय आलम ब्याटिङ अलराउण्डर हुन् । दाँयाहाते ब्याटिङ गर्ने उनले फर्स्ट क्लास क्रिकेटमा १० खेलमा ९४१ रन बनाएका छन् जसमा २६३ नटआउट स्कोर पनि सामेल छ ।
त्यसैगरी सबैखाले टी२०मा २० खेल खेल्दा २२५ रन बनाएका छन् । मिडियम पेस बलिङ गर्ने उनले फर्स्ट क्लास क्रिकेटमा ४ भन्दा कमको इकोनोमीले २१ विकेट लिएका छन् । सबैखाले टी२०मा १० विकेट लिएका छन् ।
– यस समाचारको श्रोत : Online Khabar हो ।