Main

भारत समूह विजेता, नेपालले सेमिफाइनलमा भुटानसँग खेल्ने

७ भदौ, काठमाडौं। साफ यु-२० च्याम्पियनसिप अन्तर्गत समूह चरणको अन्तिम खेलमा भारतले माल्दिभ्सलाई १-० ले पराजित गरेको छ ।

लगातार दुई जितपछि भारत समूह बी को विजेताको रुपमा सेमिफाइनल प्रवेश गरेको छ । भारतले दुई खेलमा ६ अंक जोड्यो । माल्दिभ्स भने दुई खेलमा पराजित हुँदै अंकविहिन हुँदै समूह चरणबाट बाहिरियो ।

भारतले माल्दिभ्सलाई हराएपछि भुटान समूह बी को उपविजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ । खेलको इन्जुरी टाइमको पाँचौ मिनेटमा भारतका लागि मंग्लेनथाङ किपगेनले निर्णायक गोल गोल गरे ।

यसअघि नै समूह ए बाट घरेलु टोली नेपाल र बंगलादेश सेमिफाइनल प्रवेश गरिसकेका छन् । नेपाल दुई खेल जित्दै समूह ए को विजेता बन्दा बंगलादेश उपविजेता बन्दै सेमिफाइनल पुगेको हो ।

अब घरेलु टोली नेपालले सेमिफाइनलमा समूह बी को उपविजेता भुटानसँग प्रतिस्पर्धा गर्नेछ । यस्तै साविक विजेता भारतले सेमिफाइनलमा समूह ए को उपविजेता बंगलादेशसँग खेल्नेछ ।

 

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button