भारतमा कांग्रेसको बैंक खाता फ्रिज, नेताहरु भन्छन्- सरकारले लोकतन्त्रको हत्या गर्ने प्रयास गर्यो

८ चैत, काठमाडौं । भारतमा लोकसभा निर्वाचनको पूर्व संध्यामा कांग्रेस पार्टीको २८५ करोड भारु भएको बैंक खाता फ्रिज भएको छ । यो लोकतन्त्रको हत्या गर्ने केद्र सरकारको प्रयास भएको कांग्रेस शीर्ष नेताहरुले बताएका छन् ।
बिहीबार नयाँ दिल्लीमा आयोजित पत्रकार सम्मेलनमा कांग्रेस अध्यक्ष माल्लिकार्जुन खड्गेका साथै कांग्रेसकी पूर्व प्रमुख सोनिया गान्धी, पूर्व अध्यक्ष राहुल गान्धी र कोषाध्यक्ष अजय मानकले मोदी सरकारको आलोचना गरेका हुन् ।
कांग्रेस नेताहरुका अनुसार फेब्रअरीमा आयकर विभागले पार्टीको मुख्य चार बैंक एकाउन्ट फ्रिज गरेको थियो । आर्थिक वर्ष २०१८–२०१९ को २१० करोडको आय कर र जरिवाना गरेर २१० करोड मागिएको छ । त्यसका लागि पार्टीको बैंक खाताबाट जबरजस्ती ११५ करोड लगिएको कोषध्यक्ष अजय मानकले बताए ।
पूर्व अध्यक्ष राहुलले बैंक खाता फ्रिज गर्ने निर्णयलाई कांग्रेस र लोकतन्त्रविरुद्ध ‘आपराधिक कारबाही’को संज्ञा दिएका छन् । उनले यसका लागि प्रधानमन्त्री नरेन्द्र मोदी र गृहमन्त्री अमित शाह जिम्मेवार रहेको समेत दाबी गरे ।
लोकसभा निर्वाचनको दुई महिना पहिले बैंक खाता रोक्का हुँदा नेताहरु एक ठाउँबाट अर्को ठाउँमा जान समेत नसक्ने अवस्था आएको भन्दै उनले अगाडि भने, ‘यो कांग्रेसको बैंक खाता होइन, भारतीय लोकतन्त्रलाई फ्रिज गरिएको हो ।’
कांग्रेसकी पूर्व प्रमुख सोनिया गान्धीले यो कदमलाई लोकतन्त्रमाथि हमला भनेकी छन् ।
– यस समाचारको श्रोत : Online Khabar हो ।