धीरज र उपासनासँग पूर्वउपराष्ट्रपति पुन नाचे छमछमी

काठमाडौं । सशस्त्र युद्धकालीन कथावस्तुमा बनेको फिल्म ‘खुस्मा’ संविधान दिवसको अवसर पारेर असोज ३ गतेदेखि प्रदर्शन हुँदैछ । यतिबेला फिल्म प्रवर्द्धनका लागि कलाकार धीरज मगर र उपासना सिह ठकुरी व्यस्त छन् ।
यसै सन्दर्भमा मगर सांस्कृतिक संघको विशेष उपत्यका समितिले शनिबार खुला मौलिक कौरा नृत्य (कानराहा) आयोजना गरेको थियो, जहाँ पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनले कलाकारसँग कौरा नाचे ।
प्रमुख अतिथिको रुपमा त्यहाँ सहभागी पुनले फिल्मको चर्चित गीत ‘रुकुम मैकोट’मा छमछमी नाचे । कार्यक्रममा बोल्दै उनले द्वन्द्व परिवेशमा मगर संस्कार र संस्कृति समेटेर निर्माण गरिएको उक्त फिल्म हेर्न आफू उत्साहित रहेको बताए । अभिनेता धीरज मगरले पनि पूर्वउपराष्ट्रपतिलाई फिल्म हेर्न निम्तो दिए ।
धीरजले आफू अभिनित अघिल्लो फिल्म ‘बाबरी’ रिलिजको क्रममा हेरेर सहयोग गरेको स्मरण गर्दै यो फिल्मलाई पनि त्यस्तै साथको अपेक्षा व्यक्त गरे । पूर्वउपराष्ट्रपति पुनले धीरजलाई मगर सांस्कृतिक संघको लोगो अंकित पगरी लगाइदिंदै सफलताको शुभकामना दिए ।
‘रुकुमको तकसेरामा जन्मेको मगरको छोरो जो बेलायतमा हुर्केर नेपाल फर्केर मगर संस्कृतिलाई फिल्ममार्फत विश्वमा चिनाउन लागिपरेको’ भन्दै उनले समय मिलाएर ‘खुस्मा’ हेर्ने वाचा गरे ।
एम मिडिया प्रालिको ब्यानरमा बनेको फिल्मलाई अशोक थापाले निर्देशन गरेका हुन् । निर्मातामा वीरबहादुर लामा, चन्द्रबहादुर भट्टचन, मानबहादुर धनाह मगर र बेतान मगर छन् । सहनिर्माता सुस्मिता बुढाथोकी हुन् । फिल्मलाई दीपक बज्राचार्यले छायांकन गरेका हुन् ।
फिल्ममा माओत्से गुरुङ, खड्कबहादुर पुन (खबपु), सुजाता राई, विजय सुब्बा, राज थापा काउचा, अस्तित्व भट्टचन, संगीता थापा मगर, अरुण मगर, सारा राई, श्वेता मिश्र, विवेश मगर लगायत कलाकारको अभिनय छ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।