बंगलादेशमाथि श्रीलंकाको रोमान्चक जित

२२ फागुन, काठमाडौं । श्रीलंकाले पहिलो टी-२० आई खेलमा घरेलु टोली बंगलादेशमाथि ३ रनको रोमान्चक जित हात पारेको छ ।
योसँगै तीन खेलको सिरिजमा श्रीलंकाले १-० को अग्रता लिएको छ । जितको लागि २०७ रनको विजयी लक्ष्य पछ्याएको बंगलादेशले २० ओभरमा ८ विकेट गुमाउँदै २०३ रन बनायो ।
बंगलादेशलाई जितको लागि अन्तिम ६ बलमा १२ रन चाहिएको थियो । पूर्वकप्तान दासुन शानकाले ८ रन खर्चेर श्रीलंकाको जित पक्का गराए ।
बंगलादेशका युवा ब्याटर जाकेर अलीले ३४ बलमा ४ चौका र ६ छक्कासहित सर्वाधिक ६८ रन बनाएपनि टोलीको हार टार्न सकेनन् । त्यस्तै महमुदूल्लाह रियादले ३१ बलमा २ चौका र ४ छक्कासहित ५४ रन बनाए ।
अन्य ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् । श्रीलंकाका एन्जिलो म्याथ्युज, दासुन शानका र बिनुरा फ्रेनान्डोले २-२ विकेट लिए ।
त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको श्रीलंकाले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २०६ रन बनाएको थियो । श्रीलंकाका सदिरा समाविक्रामाले ४८ बलमा ८ चौका र १ छक्कासहित सर्वाधिक ६१ रन बनाए । ओपनर कुशल मेन्डिसले ३६ बलमा ६ चौका र ३ छक्कासहित ५९ रन बनाउँदै आउट भएका थिए ।
प्लेयर अफ द म्याच चुनिएका चरिथ असलंका २१ बलमा ६ छक्कासहित ४४ रनमा नट आउट रहे । बंगलादेशका तस्किन अहमद, शरिफुल इस्लाम र रिशाद हसनले १-१ विकेट लिए । दोस्रो खेल बुधबार र तेस्रो खेल शनिबार हुनेछ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।