Main

नेपालमा पहिलो पटक नर्भिक अस्पतालमा ‘बड चियारी सिन्ड्रोम’को सफल उपचार

काठमाडौं । नेपालमा पहिलो पटक ‘बड चियारी सिन्ड्रोम’को सफल उपचार गरिएको छ । नर्भिक अस्पतालका कलेजोरोग विशेषज्ञ डा. शेखर पौडेल नेतृत्वको टोलीले मोरङ पथरीका २७ वर्षीय सन्दीप तिम्सिनामा ‘बड चियारी सिन्ड्रोम’को सफल उपचार गरेको हो । यसलाई नेपाली स्वास्थ्य सेवाकै महत्वपूर्ण कोसेढुंगाको रुपमा लिइएको छ ।

तिम्सिनालाई एक वर्षअघि पोर्चुगलमा काम गरिरहेका बेला ‘बड चियारी सिन्ड्रोम’ भएको पत्ता लागेको थियो । भारतको नारायण अस्पतालमा समेत उनलाई तत्काल कलेजो प्रत्यारोपणको सल्लाह दिइएको थियो । तर नेपाल फर्केपछि नर्भिक अस्पतालका डा. पौडेल र उहाँको टोलीले परीक्षण गर्दा कलेजो प्रत्यारोपणको साटो टिप्स/डिप्स (ट्रान्सजगुलर इन्ट्राहेपाटिक पोर्टोसिस्टमेटिक शन्ट ) मार्फत सजिलै उपचार गर्न सकिने देखिएको थियो ।

त्यसपछि डा. पौडेलको नेतृत्वमा डा. अरुण महतो, डा. गणेश देवकोटा र भारतको नयाँदिल्लीस्थित म्याक्स अस्पतालका डा. शहनबाज बासिरको मार्गदर्शनमा यो प्रक्रिया सफलतापूर्वक सम्पन्न भएको हो । तिम्सिना हालै सफल उपचारपछि घर फर्किसकेका छन् । यो उपचारले नेपालमै जटिल कलेजो रोगको उपचार सम्भव भएको देखाएको छ ।

बड चियारी सिन्ड्रोम के हो ?

बड चियारी सिन्ड्रोम कलेजोमा रगत प्रवाह गर्ने नसाहरुमा अवरोध हुँदा कलेजो सुन्निने समस्या हो । यसले पेटमा पानी जम्ने (असाइटिस) र अन्य जटिल समस्या उत्पन्न गर्छ । धेरैजसो अवस्थामा समयमा उपचार नगरे कलेजो प्रत्यारोपण अन्तिम विकल्प हुन्छ ।

टिप्स प्रक्रिया के हो ?

टिप्स अर्थात् ट्रान्सजगुलर इन्ट्राहेपाटिक पोर्टोसिस्टमेटिक शन्ट एक विशेष प्रक्रिया हो, जसले कलेजोको रगत प्रवाहलाई सामान्य बनाउन नसाका बीचमा सानो पाइप राखिन्छ । यसले रगत प्रवाह सहज बनाउँदै कलेजो सुन्निने र पेटमा पानी जम्ने समस्या हुन दिंदैन । जसकारण कलेजो प्रत्यारोपण आवश्यक हुँदैन ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button