Main

नेपालमा भाषा परीक्षा संवेदनशील बन्दै गयो : कोरिया

१७ पुस, काठमाडौं । कोरियाले भाषा परीक्षासम्बन्धी उत्पन्न पछिल्लो विवाद र त्यसलाई लिएर शुक्रबार बालकुमारीमा भएको घटनाप्रति चिन्ता व्यक्त गरेको छ ।

नेपालका लागि कोरियन राजदूत पार्क टी योङको टोलीले मंगलबार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयकासचिव केवलप्रसाद भण्डारी सहितका अधिकारीहरुलाई भेटेका थिए । उनीहरुले कोरियन सरकारका कारण भाषा परीक्षाबारे विवाद उत्पन्न भएको सन्देश नजाओस् भन्नेतर्फ सचेत गराएका छन् ।

कोरियाली पक्षले नेपालस्थित दूतावास र कोरियाको मानव संशाधन विकास विभागका अधिकारीहरुलाई नेपालमा काम गर्न सुरक्षा जोखिम देखिएको बताएको छ । यसले नियमित कार्यसम्पादनमा समेत असर पुग्ने कोरियाली पक्षको गुनासो थियो ।
पछिल्लो विवादबारे संयुक्त प्राविधिक समूहमा छलफल गरेर टुंगो लगाउनुपर्ने धारणा कोरियाली अधिकारीहरुको छ ।

कोरियासँग भएको श्रम समझदारीअनुसार श्रम सम्बन्धी समस्या र सवालबारे निर्णय गर्न सहसचिवस्तरको प्राविधिक समतिको बैठक बस्न सक्छ ।

नेपाली श्रमिकलाई रोजगार अनुमति प्रणाली (ईपीएस)को कोटामा उच्च प्राथमिकता दिएको भन्दै कोरियाली अधिकारीहरुले १३ पुसको घटनाप्रति दुःख व्यक्त गरेका छन् । ‘नेपाली श्रमिकहरु परिश्रम, लनशीलता र इमान्दारिताबारे उहाँहरुले खुलेर प्रशंसा गर्नुभयो,’ भेटमा सहभागी वैदेशिक रोजगार विभागका महानिर्देशक डण्डुराज घिमिरेले भने, ‘पछिल्लो घटनाले उहाँहरु साह्रै चिन्तित पनि हुनुहुन्छ ।’

सन् २०२३ को पानी जहाज निर्माण क्षेत्रमा भाषा परीक्षा दिएका ३१ हजार भन्दा बढीले उत्पादन क्षेत्रको भाषा परीक्षामा आवेदन दिन पाउने माग गर्दै आन्दोलन गरेका थिए । यसक्रममा भएको झडपमा २ जना युवाको ज्यान गएको थियो ।

यो घटनाले भाषा परीक्षाका सन्दर्भमा नेपाल संवेदनशील बन्दै गएको देखाएको भन्दै कोरियाली पक्षले समस्या क्रमसँग समाधान हुने बताएका छन् ।

प्रणाली र पूर्वाधारको सीमितताका कारण परीक्षामा सहभागी कम गराउनु परेको भन्दै कोरियाली पक्षले देखिएका समस्याहरु क्रमशः सल्टाउँदै जाने पनि बताएको छ ।

जवाफमा श्रम सचिव भण्डारीले कोरियाली पक्षलाई सुरक्षाको जिम्मा सरकारले लिने बताएका छन् । कोरियाली सरकारसँगको जोडिएको मुद्दामा घटना हुन पुगेको भन्दै उनले अवस्थामा सामन्यउन्मु भइसकेकाले ढुक्क भएर नियमित काम गर्न सकिने बताए । ‘सुरक्षा निकायसँग हामीले कुरा गरिसकेका छौं, संयुक्त रुपमा मिलेर अघि बढौं’ सचिवको भनाइ उद्धृत गर्दै एक सहभागीले भने, ‘ईपीएस शाखाको निर्देश पनि छिट्टै नियुक्त गर्छौं, परीक्षा प्रणालीमा केन्द्रित होऔं ।’

सचिव भण्डारीले परीक्षार्थीको संख्या बढ्दै गएकाले त्यसतर्फ पनि सोच्नुपर्ने अवस्था आएको बताएका थिए ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button