Main

नेपालविरूद्ध कीर्तिपुरमै कीर्तिमान बनाएका लफ्टी इटन

१२ मंसिर, काठमाडौं । जान निकोल लफ्टी-इटन । नामिबियाका यी क्रिकेटरको नाम कसले बिर्सेलान् र । बिर्सुन् पनि कसरी । लफ्टी इटन तीनै खेलाडी हुन् जसले नेपाल विरुद्ध कीर्तिपुरस्थित टीयू मैदानमै शतक प्रहार गरे ।

त्यो पनि चानचुने शतक मात्र होइन । नेपालका कुशल मल्लको नाममा रहेको टी२०आईमै सबैभन्दा छिटो शतक प्रहार गर्ने कीर्तिमान पनि त्यसबेला तोडे । (अहिले टी२०आई मा सबैभन्दा छिटो शतक प्रहार गर्ने कीर्तिमान इस्टोनियाका साहिल चौहानको नाममा छ । उनले २७ बलमै साइप्रसविरुद्ध टी२० आईमा शतक प्रहार गरेका थिए )

नेपालमा भएको घरेलु टोली नेपाल, नामिबिया र नेदरल्यान्ड्स सम्मिलित टी२०आई त्रिकोणात्मक शृखंलामा खेलमा लफ्टी इटनले सो उपलब्धी हात पार गरेका हुन् ।

लफ्टीको त्यसअघि टी२०आईमा उच्च प्रदर्शन २०२२ मा जिम्बावेविरुद्ध बनाएको २८ रन नै थियो । त्यस शतकअघि उनले टी२०आईमा अर्धशतक समेत बनाएका थिएनन् । तर ११औं ओभरको चौथो बलमा नामिबियाको तेस्रो विकेट गुमेपछि क्रिजमा पुगेका उनले अविश्वसनीय ब्याटिङ गरे । १९औं ओभरको पहिलो बलमा दीपेन्द्रसिंह ऐरीलाई छक्का हानेपछि उनले ३१ बलमा ९६ रन पुर्‍याएका थिए । अर्को बल दीपेन्द्रले डट राखेपछि तेस्रो बलमा चौका प्रहार गर्दै लफ्टी इटनले ३३ बलमा शतक पूरा गरेका थिए ।

लफ्टी इटनले हजारौँ नेपाली दर्शकअघि टीयू मैदानमा ३३ बल खेल्दै ११ चौका र ८ छक्का मद्तमा शतक पूरा गरेका थिए । त्यस खेलमा उनले ३६ बल खेलेर १०१ रन बनाउँदै आउट भए ।

२७ फेब्रुअरी २०२३ मा टीयू मैदानमा घरेलु टोली नेपाल विरुद्ध लफ्टी इटनले ३३ बलमै शतक प्रहार गर्दै कुशल मल्लको कीर्तिमान तोडेका थिए । कुशल मल्लले गत वर्ष चीनको हान्झाउमा भएको १९औं एसियाडमा मंगोलिया विरुद्ध ३४ बलमै शतक प्रहार गरेर कीर्तिमान बनाएका थिए ।

कुशल मल्लले भारतका रोहित शर्मा र दक्षिण अफ्रिकाका डेविड मिलरले ३५ बलमा बनाएको छिटो शतकको कीर्तिमान तोडेका थिए । तर ५ महिनापछि कुशलकै आँखा अगाडि नै लफ्टीले तोडेका छन् ।

कुशलले गत सेप्टेम्बरमा मंगोलियाविरुद्ध ६ चौका र ९ छक्का हानेर ३४ बलमा शतक पूरा गरेका थिए । त्यो खेलमा कुशलले ५० बलमा ८ चौका र १२ छक्कासहित १३७ रनको इनिङ खेलेका थिए ।

संयोग कस्तो भने यिनै दुई आक्रमक ब्याटर अब नेपाल प्रिमियर लिग (एनपीएल) फ्रेन्चाइजमा एकै टिमबाट सँगै खेल्ने भएका छन् । यही मंसिर १५ गतेदेखि सुरु हुने एनपीएलमा लफ्टी इटनलाई चितवन राइनोजले अनुबन्ध गरेको छ ।

चितवन मेडिकल कलेजको स्वामित्वमा रहेको चितवन राइनोजले कुशलकै कीर्तिमान तोडेकै खेलाडीलाई टिममा अनुबन्ध गरेको हो । संयोग कस्तो भने कुशल मल्ल नै चितवन राइनोजको मार्की प्लेअर हुन् ।

टीयू मैदानसँग लफ्टी इटनको सम्झनलायक क्षण छ । त्यसैले पनि फेरि चितवन राइनोजबाट टीयू मैदानमा एनपीएल खेल्न उनी निकै उत्सहित छन् ।

चितवन राइनोजमा अनुबन्ध हुन पाउँदा लफ्टी–इटनले खुसी व्यक्त गरेका छन् । ‘त्रिवि क्रिकेट मैदानको सम्झना मेरो हृदयमा कोरिएको छ । यो मैदानले मलाई टी–२० क्रिकेटको सबैभन्दा अविस्मरणीय इनिङ्स खेल्ने अवसर दिएको छ’ चितवनमा अनुबन्ध भएपछि लफ्टी इटनले भनेका थिए, ‘अब नेपाली क्रिकेट समर्थकका अगाडि चितवन राइनोजबाट त्यस्तै प्रदर्शन गर्ने समय आएको छ।’

चितवन राइनोजका प्रबन्ध निर्देशक आयुष न्यौपानेले लफ्टी इटन र मल्ल एकै टोलीमा भएको कारण एनपीएल थप रोमाञ्चक हुने विश्वास व्यक्त गरे । ‘नेपाली क्रिकेट समर्थकहरूले उनलाई गत सिजन त्रिवि मैदानमा कुशलको कीर्तिमान तोडेको देखेका थिए । अब दुवै धुरन्धर खेलाडी एउटै टोलीबाट खेल्नेछन् । आफ्नो सिट बेल्ट बाँध्नुहोस्’ उनले भने ।

लफ्टी इटनको प्रदर्शन

२३ वर्षीय बायाँ हाते ब्याटिङ अलराउण्डर लफ्टी इटन अहिले टी२०आईमा सबैभन्दा छिटो शतक बनाउने सूचीमा उनी दोस्रो स्थानमा छन् भने कुशल मल्ल चौथो स्थानमा छन् ।

गत महिना जिम्बाव्वेका सिकन्दर राजाले पनि ३३ बलमै टी२०आईमा शतक प्रहार गरेका थिए । यस्तै टी२०आईमा सबैभन्दा छिटो शतक २७ बलमै बनेको छ ।

अहिलेसम्म नामिबियाका लागि ३९ टी२०आई खेल खेलेका लफ्टी इटनले ४१४ रन बनाएका छन् । जसमा एक शतक समावेश छ । सबैखाले टी२० मा ५१ खेलमा उनले ६०७ रन बनाएका छन् ।

लफ्टी इटनले नामिबयाको यू१९ टिमबाट खेल्दै क्रिकेट करियर सुरु गरेका थिए । उनले नामिबियाको सिनियर टिमबाट ४० ओडिआई र ३९ टी२०आई खेल खेलिसकेका छन् ।

लफ्टी इटनले नामिबियाका लागि ४० ओडिआई खेलमा ७ अर्धशतक प्रहार गर्दै ९२३ रन बनाएका छन् । उनको उच्च स्कोर ७३ रहेको छ ।

उनले एक फस्ट क्लास म्याच पनि खेलेका छन् । यस्तै उनले ओडिआईमा २१ विकेट लिएका छन् भने टी२० मा १२ विकेट लिएका छन् ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button