बुटवलमा जेठ पहिलो साता हाफ म्याराथन र रोड रेस हुने

१० वैशाख, काठमाडौं । मदन भण्डारी स्पोर्टस् एकेडेमीको आयोजनामा खुला हाफ म्याराथन र कलेज तथा विद्यालयस्तरको रोड रेस प्रतियोगिता हुने भएको छ ।
मदन भण्डारीको स्मृतिमा एकेडेमीले आगामी जेठ ३ गते हाफ म्याराथन र रोड रेस गर्न लागेको हो ।
गत वर्ष शान्तिको कामनासहित गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा म्याराथन सम्पन्न गरेको एकेडेमीले यसपटक बुटवलमा प्रतियोगिता गर्न लागेको हो ।
सबैका लागि खेलकुद भन्ने नाराका साथ बालकदेखि वृद्वसम्मको दोस्रो मदन भण्डारी कप राष्ट्रिय खुला म्याराथन आयोजना गर्न लागिएको मदन भण्डारी स्पोर्टस एकेडेमी अध्यक्ष ध्रुव आचार्यले जानकारी गराए ।
२१ किलोमिटरको हाफ म्याराथन प्रतिस्पर्धामा जो सुकैले पनि भाग लिन पाउने उनले बताए ।
त्यस्तै १० किलोमिटर कलेजस्तरीय र ५ किलोमिटरको विद्यालयस्तरीय छात्र र छात्रा दौड प्रतियोगिता पनि हुनेछ । ६० वर्ष माथिका जेष्ठ नागरिकको लागि वाकाथन प्रतियोगिता पनि राखिएको खेल संयोजक मोहन घलेले जानकारी दिए ।
हाफ म्याराथनको प्रथम पुरस्कार १ लाख, द्वितीय पुरस्कार ७५ हजार, तृतीय पुरस्कार ५० हजार, चौथो ३० हजार, पाँचौ २० हजार र छैटौं १० हजार रहेको छ ।
१० किलोमिटर दौडको प्रथम पुरस्कार ३५ हजार, द्वितीय २५ हजार, तृतीय पुरस्कार १५ हजार, चौथौ १० हजार, पाँचौ र छैटौंको क्रमशः ७ हजार र ५ हजार रहेको छ ।
छात्रमा शीर्ष ६ स्थान हात पार्नेले क्रमशः २० हजार, १५ हजार, १२ हजार, १० हजार, ७ हजार र ५ हजार प्राप्त गर्नेछन् । छात्रामा शीर्ष ६ स्थानमा रहनेले क्रमशः १५ हजार, १० हजार, ७ हजार, ५ हजार, ३ हजार र २ हजार प्राप्त गर्नेछन् ।
– यस समाचारको श्रोत : Online Khabar हो ।