Main

जुनसुकै बेला इन्टरनेट सेवा रोकिन सक्‍ने सेवा प्रदायकको चेतावनी

१३ वैशाख, काठमाडौं । इन्टरनेट सेवा प्रदायक संघ (आइस्पान)ले जतिबेला पनि इन्टरनेट सेवा काटिन सक्ने चेतावनी दिएको छ ।

बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै आइस्पानले घरघरमा जोडिएको इन्टरनेटको सेवा जतिबेला पनि अवरुद्ध हुन सक्ने चेतावनी दिएको हो ।

करिब १२ महिनाको ३ अर्ब रुपैयाँ भारतीय कम्पनी एयरटेललाई इन्टरनेट ब्याण्डविथको पैसा पठाउन सरकारले अवरोध गरेको भन्‍दै इन्टरनेट जतिबेला पनि बन्द हुनसक्ने आइएसपानका अध्यक्ष सुधीर पराजुलीले बताए ।

‘अहिले इन्टरनेट ब्याण्डविथको करिब १२ महिनाको ३ अर्ब रुपैयाँ भारतीय कम्पनी एयरटेललाई पठाउन सकिएको छैन। उताबाट पैसा किन नपठाएको भन्‍दै पत्र आइसकेको छ, ‘ उनले भने, ‘तर, ब्याण्डविथको खरिद गर्दा तिर्नुपर्ने पैसाको सिफारिस नदिँदा जतिबेला पनि इन्टरनेट बन्द हुन सक्छ।’

आइस्पानका अध्यक्ष पराजुलीले नेपाल ब्याण्डविथ खरिद गर्दा तिर्नुपर्ने पैसा पठाउन ताकेता पत्र आइसकेको पनि सुनाए । ‘ भारतीय कम्पनीबाट खरिद गरेको पैसा पठाउन ताकेता पत्र २ दिन अगाडि आइसकेको छ। तर, सरकारले सिफारिस नदिँदा उक्त पैसा बैंकमा अड्किएर बसेको छ।’

अब हुने इन्टरनेट बन्दको जिम्मा सरकारले लिनुपर्ने आइस्पानको भनाइ छ। उनले चेतावनी दिँदै भने, ‘ हामीलाई आयकर, रोयल्टीलगायतका करमाथि कर थोपर्ने अनि पैसा पठाउन विदेशी मुद्राको पनि सिफारिस नगर्दा दोधारमा छौं। यसको जिम्मा अब सरकारले लिनुपर्छ।’

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button