सीटीईभीटी कसरी बन्यो क्रिप्टोको अखडा ?

२५, असार, काठमाडौं । प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सीटीईभीटी) को कम्प्युटरहरु एक वर्षदेखि अवैध क्रिप्टो कारोबारको अखडा बनेको खुलेको छ ।
त्यहाँ कार्यरत सूचना प्रविधिसम्बन्धी दुई कर्मचारीले ६४ थान कम्युटरमा क्रिप्टो माइनिङ गरेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को निष्कर्ष छ ।
सीआईबीले सीटीईभीटीमा कार्यरत इन्जिनियरद्वय विश्वास गुरुङ र राजेन्द्र ताहामतालाई ३० जेठमा पक्राउ गरेको थियो ।
भक्तपुर नगरपालिका–७ गोल्मढीका २५ वर्षीय राजेन्द्र सीटीईभीटीको ट्रेनिङ इन्ष्टिच्युट फर टेक्निकल इन्स्ट्रक्सन (टीआईटीआई) शाखामा आईटी असिस्टेन्ट (सूचना प्रविधि सहायक) पदमा करारमा कार्यरत थिए । कीर्तिपुर नगरपालिका–१ ट्याङ्लाफाँटका ४० वर्षीय गुरुङ प्रशिक्षकको रुपमा कार्यरत थिए ।
उनीहरुले कार्यालयको कम्प्युटरमा क्रिप्टो माइनिङसम्बन्धी सफ्टवेयर तथा एप्लिकेसनहरु इन्स्टल गरेर क्रिप्टो माइनिङ गरेको अनुसन्धानबाट खुलेको सीआईबीले बताएको छ ।
सीआईबीले क्रिप्टो माइनिङमा प्रयोग गरिएका ६४ थान कम्युटर समेत बरामद गरेको थियो ।
कम्युटरहरुमाथि अनुसन्धान गर्दा विगत एक वर्षदेखि क्रिप्टोको माइनिङ गरेको खुलेको छ । ‘विगत एक वर्षदेखि सरकारी कार्यालयबाटै क्रिप्टो माइनिङ भएको भेटिएको छ । बरामद कम्प्युटर तथा मोबाइलमा माइनिङका विभिन्न एप तथा सफ्टवेयर, वालेट बरामद भएका छन्’, सीआईबीका एक अधिकारीले भने ।
यसरी खुल्यो पोल
सीटीईभीटीको कम्युटरमा क्रिप्टो माइनिङ हुने गरेको भन्दै १३ जेठमा प्रहरी प्रधान कार्यालयको उजुरी छानबिन शाखालाई इमेल आएको थियो । त्यही इमेललाई आधार मानेर सीआईबीले १७ जेठबाट अनुसन्धान थालेको थियो । क्रिप्टो माइनिङ भएका कम्प्युटरहरु कसले प्रयोग गर्ने गरेको हो भनेर सीटीईभीटीलाई सोध्यो ।
विश्वास र राजेन्द्रको जिम्मेवारीमा रहेको जानकारी सीटीईभीटीले दिएपछि ३० जेठमा दुबैजना पक्राउ परे । पक्राउ परेकाहरुमाथि अनुसन्धान गरेर जिल्ला सरकारी वकिल कार्यालय भक्तपुरमा प्रतिवेदन बुझाएको सीआईबीका प्रवक्ता एसपी होविन्द्र बोगटीले जानकारी दिए ।
उनीहरुविरुद्ध मुलुकी अपराध संहिता २०७४ को मुद्रा सम्बन्धी कसुरमा मुद्दा चलाउन सीआईबीले सिफारिस गरेको छ ।
दफा २६२ मा अभौतिक मुद्राको प्रयोग गर्न नहुने उल्लेख छ । अभौतिक तथा भर्चुअल मुद्राको उत्पादन, बिक्री, कारोबार, सटही, स्थानान्तरण गर्न, राख्न वा होल्ड गर्न वा त्यस्तो मुद्रा जारी तथा हस्तान्तरण गर्न नहुने उल्लेख छ ।
उक्त कसुर गरेमा अपराध गर्न प्रयोग भएको र त्यसबाट आर्जन गरेको सम्पत्ति समेत जफत गरी ५ वर्ष कैदसम्म र बिगो बमोजिमको जरिवाना हुनसक्ने व्यवस्था छ ।
कोरियनलाई लगाए दोष
पक्राउ परेका दुबै जनाले भने आफूहरुले क्रिप्टो माइनिङ नगरेको दाबी गर्दै बयान दिएका छन् । यसअघि नै कम्प्युटर सेट गरेका बेला कोरियन नागरिकले उक्त सिस्टम कम्प्युटरमा एक्टिभ गरेको हुनसक्ने दुबैको दाबी छ ।
आईटी ल्याबमा रहेका कम्प्युटरसहितका इलेक्ट्रिोनिक उपकरण केओआईसीए भन्ने कोरियन प्रोजेक्टबाट आएको थियो । कम्प्युटर मर्मत भने रिलायन्स इन्फोटेक प्रालिले गर्ने गरेको थियो ।
कम्प्युटरहरु जडान गर्नेहरुले नै क्रिप्टो माइनिङसँग सम्बन्धित एप्लिकेशन राखेको विश्वास र राजेन्द्रको दाबी छ ।
कोरियनले जडान गरेको र रिलायन्स इन्फोटेकबाट मर्मतका लागि आउने गरेकाले के–कसरी क्रिप्टो माइनिङ भयो भन्ने आफूलाई जानकारी नभएको राजेन्द्रले बताएका छन् । यद्यपि पछिल्लो एक वर्षदेखि कम्प्युटहरु अन गर्दा क्रिप्टो माइनिङ भइरहेको जानकारी देखिने गरेको उनले बताए ।
तर उनीहरुले कम्युटरमा क्रिप्टो माइनिङ भएको विषयमा कार्यालय प्रमुखलाई जानकारी गराएका थिएनन् । उनीहरुको कोठाबाट बरामद भएका डिभाइसमा क्रिप्टो माइनिङबारे सामग्रीहरु भेटिएकाले उनीहरुको संलग्नता देखिने सीआईबीको दाबी छ ।
क्रिप्टो माइनिङ गर्दा कम्युटर, सफ्टवेयर तथा उर्जा खर्च वापत माइनरले केही रकम रिवार्ड वापत अमेरिकी डलर पाउने गर्छन् । विश्वास र राजेन्द्रले ११४२.८१ अमेरिकी डलर रिवार्ड पाएको देखिएको सीआईबीका एक अनुसन्धान अधिकारीले बताए ।
उनीहरुले काम गर्ने कम्प्युटरमा क्रिप्टो माइनिङसम्बन्धी एप्लिकेशनहरु भेटिएका छन् । क्रिप्टो माइनिङसम्बन्धी वालेट नामको फाइल भेटिएको छ । त्यसैगरी २५६ जीबीको एसएसडीमा वेभ ब्राउजरको लगइनका साथै क्रिप्टोका अन्य डकुमेन्ट भेटिएको सीआईबीले जनाएको छ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।