गेलाल ‘सेल्स ब्वाई’ देखि प्रिमियम ईभीको नेपाल वितरकसम्म

काठमाडौं । नेपालमा भएका विद्युतीय गाडी (ईभी) मध्ये एकचोटि चार्ज गर्दा सबैभन्दा लामो दुरीसम्म गुड्ने दाबी गरिएको गाडी हो ‘स्काइवेल’ ।
भोलि मंगलबारदेखि भृकुटीमण्डपमा हुने ‘नाडा अटो शो २०२४’ मा जी मोटर्सले दुई नयाँ गाडी राख्दै छ भने स्काइवेलको पनि जानकारी पाइने छ ।
जी मोटर्सका अनुसार ‘एसयूभी बी ११’ मा ५ सय २० किलोमिटर र ४ सय १० किलोमिटर रेन्ज भएका ईभी ल्याउन लागिएको हो । ती गाडीमा ५ सय २० किलोमिटर रेन्ज भएको ७१.९८ किलोवाट आवर र ४ सय १० रेन्जका लागि ५१.९२ किलोवाट आवरको ब्याट्री अप्सन छ । उक्त रेन्जभन्दा कम र मूल्य पनि थोरै भएको स्काइवेलको नयाँ गाडी नेपाल आउन लागेको हो ।
भक्तपुरको राधेराधेस्थित जी मोटर्सले आधिकारिक रूपमा नेपालमा यसको बिक्री गरिरहेको छ । २०२३ को नाडा अटो शोमा गाडीको जानकारी मात्रै थियो भने २०२४ सम्म जी मोटर्सले ४० भन्दा धेरै स्काइवेल गाडी बेचिसकेको छ ।
सेल्स ब्वाईदेखि प्रिमियम गाडी आयातकर्तासम्म
६ सय २० किलोमिटर रेन्ज दिने प्रिमियम ईभी भित्र्याउने जी मोटर्सका सञ्चालक हुन् कैलाशबाबु गेलाल । उनको अटो मोबाइल क्षेत्रमा लामै कथा छ ।
गेलालले २००९ मा स्नातकोत्तर उत्तीर्ण गरेर के जागिर खाने भन्दा सिप्रदीमा नाम निकालेको थिए । ‘जुनियर सेल्स अफिसरका रूपमा छिरेको थिएँ, त्यसमा पनि कार सेल्समा ज्वाइन भएको थिएँ,’ गेलाल सम्झिन्छन्, ‘त्यतिबेला ए फर अटोमोबाइल हुन्छ भन्ने थाहा थिएन । मैले कार बिक्रीका लागि योगदान दिएको थिएँ ।’
गेलालले कार सेग्मेन्टमै डेपुटी म्यानेजरका रूपमा ७ देखि ८ वर्ष काम गरिसकेपछि ‘अब आफ्नै केही गर्नुपर्छ’ भन्ने हुटहुटी भयो ।
‘लामो समय कार सेल्समा बसेँ, त्यही क्रममा ८–१० वटा देश घुमिसक्दा के लाग्यो भने व्यवसाय भनेको छुट्टै केही हो, अब चाहिँ मैले जागिरभन्दा पनि व्यवसाय नै रोज्नुपर्छ भन्ने लाग्यो,’ गेलाल भन्छन्, ‘घरमा पनि जागिर छाड्दा अचम्मै माने । राम्रो तलब आइरहेको जागिर छाड्दा त्यो स्वाभाविक नै हो ।’
कसरी सुरु भयो प्रिमियम ईभी आयात ?
गेलालले जागिर छाडेर सुरुमा टीभीएस बाइकको शोरुम चलाए । तर, मार्जिन राख्न नसक्दा सञ्चालन खर्च पुर्याउनै धौधौ भयो र त्यहाँबाट हात झिके ।
‘टीभीएस शोरुम बन्द गर्दा मसँग ४–५ लाख रुपैयाँ जम्मा थियो । मेरो अटो बिजनेस प्लान प्रभु बैैंकलाई सुनाएँ । बैंकले ऋण पत्यायो, ७५ लाखको बैंकको ग्यारेन्टी दियो । त्यसले मलाई अमूल्य योगदान दियो । त्यसपछि मैले अटोमोबाइलमा व्यावसायिक रूपमा काम गर्न थालेँ,’ गेलालले भने ।
उनका हजुरबुबाले कृषि नै गरेर ठूलो परिवार पालेका थिए भने बुबाले जागिर नखाएर विभिन्न व्यवसाय गर्दै छाड्दै गरेपछि एउटा लेखापढी खोलेका थिए । लेखापढी स्थिर भएपछि जग्गा प्लानिङ सुरु भएको थियो ।
‘बुबाले धेरै व्यवसायमा हात हाल्ने झिक्ने गर्नुभयो, त्यसको सिकाइ मलाई भयो, हामीले जीवनका सुख, दुःख देख्न पायौं, उकाली ओराली हेर्यौं,’ उनी भन्छन् ।
बैंकको सहयोगपछि उनले शोरुम चलाए । ‘हामीले विभिन्न ब्रान्डका गाडी बिक्री गर्यौं, ग्राहकको माया पायौं । काठमाडौं, भक्तपुर, इटहरी जस्ता ठाउँबाट हाम्रा विभिन्न गाडी बिक्री भइरहेको थियो । मैले लामो समय अटो क्षेत्रमा काम गरेको, ग्राहकको माया पाएको र यो क्षेत्र बुझेको भएर एउटा कन्फिडेन्स आयो । त्यसपछि मैले प्रिमियम गाडी भित्र्याउने आँट गरेँ,’ गेलालले सुनाए ।
के छ चुनौती ?
नेपालको अटोमोबाइल क्षेत्रको चुनौतीबारे गेलाल राम्रोसँग जानकार छन् । ‘अटोमोबाइल क्षेत्रमा मार्जिन कम र दिगोपन नहुँदा चुनौती छ । अब ईभीमा पनि त्यो छ, तर अन्तर्राष्ट्रिय बजार फुटप्रिन्ट राम्रो भएको, युरोपमा धेरै बिक्री भएको, नेपालको भूगोल सुहाउँदो सुरक्षित र लामो दुरी गुड्न सक्ने गाडी ल्याएको हुँ,’ उनी भन्छन्, ‘स्काइवेल नेपाल भित्र्याउँदै गर्दा हाम्रोमा प्रिमियम बजार सुरु गर्न सक्छौैं भन्ने मान्यता लिएर अगाडि बढेको हौं ।’
गेलाल अटोमोबाइललाई ‘टफ’ व्यापारका रूपमा हेर्छन् । ‘अब फ्युल बेस गाडीहरू बिस्तारै घटद्ै छ, सानो मार्केटमा धेरै ब्रान्डका गाडी आएका छन्,’ उनी भन्छन्, ‘अर्को चाहिँ, ईभीको मूल्य प्रत्येक वर्ष घट्दै छ, प्रतिस्पर्धा र प्रविधिको विकासक कारण पनि ईभी बजार टफ छ ।’
गेलालले दीर्घकालीन रूपमा ईभीले बजार लिन सक्ने अनुमान गर्छन् । ‘निजी वा सार्वजनिक यातायात बिस्तारै ईभीमै जानुपर्छ । पूर्वाधार विकासमा झन् काम गर्नुपर्ने छ यस्तोमा ठूलो प्रतिस्पर्धा भनेको सामान्य कुरा होइन, टफ बिजनेसभन्दा हुन्छ ।’
बिक्री क्षमताले अब्बल गेलाल
नेपालको अटो क्षेत्रमा ठूला व्यावसायिक घरानाहरू छन्, उनीहरूको ठूलै व्यापार छ, त्यो सत्य हो तर उनीहरु पनि एक–दुई गाडी बेचेरै यो ठाउँमा आएका हुन् ।
‘डिलरसिप व्यवसायका रूपमा मैले हजारौं गाडी बेचिसकेको छु । नेपालको आधिकारिक विक्रेता भएर स्काइवेल नै ४० भन्दा बढी गाडी बिक्री भइसकेको छ,’ गेलाल उत्साहित हुन्छन्, ‘त्यो हाम्रो टिममा सक्षमता, मेरो भिजनमा सक्षमता छ । ममा के कन्फिडेन्स छ भने नेपालको नम्बर वान प्रिमियम ब्रान्ड स्काइवेललाई नै बनाउँछौं ।’
उनले स्काइवेलको गाडी अझै सानो सेग्मेन्टमा ल्याउने भन्दै अन्र्तराष्ट्रिय बजार हेरेर जी मोटर्सले केही न केही नयाँ ल्याउने बताए ।
उनका अनुसार अहिले थोरै आधिकारिकतामा केही मान्छेले खेल्न खोजे पनि त्यो असत्य हो । अहिले हामी नै आधिकारिक हो । नेपालमा स्काइवेल ब्रान्ड, सर्भिस सेन्टर, सोरुमका लागि अर्बौं लगानी भइसकेको छ । उत्पादक कम्पनीले जी मोटर्सलाई मात्रै आधिकारिता दिएको छ ।
‘हामी नै मुख्य आयातकर्ता हौं । बीचमा एउटा टिमले हङकङको एउटा एजेन्ट कम्पनीसँग ललितपुरमा बिक्री गर्छौं भनेर डिस्ट्रिब्युटर माग गरेको रहेछ । त्यो रोक्न हामी अदालत गइसकेका छौं । कसैले नेपाल सरकारको भन्सार छलेर हुन्डीमार्फत पैसा पठाएर गाडी ल्याएर बेच्छ भन्छ भने त्यो भ्रम मात्रै हो,’ स्काइवेलको आधिकारिताबारे गेलालले स्पष्ट पारे ।
गेलालको जी मोटर्सले स्काइवेल आयात र विक्री वितरण गरिरहेको छ भने इटहरीमा कियाको आधिकारिक वितरक हो । यस्तै ईभीका सर्भिस उपकरणको काम भइरहेको छ भने नेपालभरि ईभी गाडीका लागि चार्जिङ सोलुसनको काम दसैंपछि सुरु हुँदैछ ।
नेपालमा अवसर छ, खोज्न सिकौं
पछिल्लो समयमा नेपालमा युवाले केही भएन भनिरहँदा गेलाल धेरै क्षेत्रमा अवसर रहेको बताउँछन् । ‘हाम्रो यहाँ केही भएन भन्ने भन्दा पनि केही गर्छु भन्ने सोच भएका धेरै युवा हुनुपर्छ । नेपालमा बिजनेस गर्ने धेरै क्षेत्र छ, तर त्यसका लागि खोज्न सक्नुपर्छ,’ गेलाल भन्छन् ।
व्यावसायिक वातावरण छैन भन्ने मात्रै होइन, तर प्लेटफर्म पनि खोज्नुपर्ने भन्दै उनले नीति निर्माण तहमै अस्थायी वातावरण हुँदा समस्या भए पनि स्टार्टअप कल्चर आफैंले निर्माण गर्नुपर्ने बताए ।
‘व्यवसायमा लाग्ने दृढ सोच हुनुपर्यो, भिजन हुनुपर्यो । हाम्रो नेपालमा व्यवसाय गर्न हरेक खुट्किलामा चुनौती छन् । त्यसको लागि धैर्यता, मिहनेत र अध्ययन चाहिन्छ,’ गेलाल भन्छन् ।
उनले ई–कमर्स, अटो आईटी, कृषिमा प्लेटफर्म रहेको भन्दै यसका लागि जागिर मात्रै होइन, व्यवसाय गर्छु भन्ने मनोविज्ञान हुन आवश्यक रहेको बताए ।
‘म सामान्य जागिर खाँदै अपग्रेड हुँदै व्यवसाय थाल्दा यहाँ आइपुगेको हुँ । युवामा पनि केही गर्छु भन्ने हुटहुटी हुन आवश्यक छ,’ गेलाल थप्छन् ।
फोटो : आर्यन धिमाल
– यस समाचारको श्रोत : Online Khabar हो ।