नेपाली शिक्षा परिषदको वार्षिकोत्सवमा कोइराला र जोशीलाई सम्मान

काठमाडौं । नेपाली शिक्षा परिषदको ७४ औं वार्षिक उत्सव तथा संस्थापक भाषासेवी गोपाल पाँडे (असीम) को ११२ औं जन्मजयन्तीको अवसरमा शिक्षाविद प्रा.डा. विद्यानाथ कोइराला र साहित्यकार प्रद्युम्न जोशी सम्मानित भएका छन् ।
शुक्रबार लेखनाथ साहित्य सदन सोह्रखुट्टेमा आयोजित कार्यक्रममा कोइराला र जोशीलाई सम्मान गरिएको हो ।
कोइरालालाई लेबाल त्रिरत्न पुरस्कार २०८१ बाट सम्मान गरिएको छ । लेखनाथ पौड्याल, बालकृष्ण सम र लक्ष्मीप्रसाद देवकोटाको नामको अघिल्लो एकएक अक्षरबाट ‘लेबाल’ त्रिरत्न पुरस्कार स्थापना गरिएको हो । यो पुरस्कारको राशी १ लाख १ हजार १ सय १ रुपैयाँ र सम्मानपत्र छ ।
यसैगरी भाषासेवी गोपाल पाँडे (असीम) पुरस्कारको राशि नगद ५१ हजार र सम्मानपत्र छ ।
यस्तै २०८० सालको एसईई परीक्षामा भानु माध्यमिक विद्यालय दरबार हाईस्कुलबाट नेपाली विषयमा सर्वाेत्कृष्ट अंक ल्याएका विद्यार्थी मन्दिप श्रेष्ठलाई गोपाल पाँडे (असीम) उत्कृष्ट नेपाली पुरस्कार प्रदान गरिएको थियो । यो पुरस्कारको राशि ५ हजार र सम्मानपत्र छ ।
यी सबै पुरकार नेपाली शिक्षा परिषदकी अध्यक्ष एवम् भाषासेवी असीमकी छोरी रमा शर्माले स्थापना गरेकी हुन् ।
कार्यक्रमका प्रमुख अतिथि प्राध्यापक एवम् संयुक्त राष्ट्रसंघका लागि नेपालका पूर्व राजदूत जयराज आचार्यमार्फत् सम्मानित व्यक्तित्वहरुलाई नगद पुरस्कार तथा सम्मानपत्र समर्पण गरिएको थियो ।
प्रमुख अतिथि आचार्यले आर्थिक संकटका बाबजुद भाषासेवी असीमको परिवारका सदस्यहरुले नेपाली भाषाको संरक्षण र सम्वद्र्धन गर्न देखाएको क्रियाशीलता अतुललीय भएको बताए । नेपाली भाषा, शिक्षा र साहित्यको क्षेत्रमा सरकारी बजेट प्राप्त गर्ने संस्थाहरुको तुलनामा नेपाली शिक्षा परिषदले आफ्नै पहलमा गरेकोे योगदान कयौं गुणा बढी भएको आचार्यले बताए ।
उनले नेपाली शिक्षा परिषदलाई जोगाइराख्न आवश्यक रहेकोमा जोड दिए । कतिपय साहित्यिक कृतिहरु बजारमा नपाइने भएकाले त्यस्ता कृतिलाई सूचनाप्रविधिमैत्री बनाउन डिजिटलाइज्ड गरेर इन्टरनेटमा राख्न पहल गर्नुपर्ने बताए ।
नेपाली शिक्षा परिषदकी अध्यक्ष प्राध्यापक रमा शर्माले सेवा भावले शिक्षा, साहित्य र संस्कृतिको क्षेत्रमा संस्था क्रियाशील भएको बताइन् ।
कार्यक्रममा सम्मानित भएकाहरुले भाषासेवी असीमको नामबाट सम्मानित हुन पाउँदा खुसी व्यक्त गर्दै नेपाली भाषा र साहित्यको श्रीवृद्धिमा निरन्तर लागिरहने हौसला प्राप्त भएको बताएका थिए ।
– यस समाचारको श्रोत : Online Khabar हो ।