एलन मस्क नेतृत्वको सरकारी दक्षता विभागले माग्यो आवेदन, यस्तो हुनुपर्नेछ योग्यता
डोनाल्ड ट्रम्प अमेरिकाको राष्ट्रपतिमा निर्वाचित भएपश्चात् अर्बपति एलन मस्कले महत्वपूर्ण जिम्मेवारी प्राप्त गरे ।
एलन मस्कसँगै विवेक रामास्वामीलाई ट्रम्पले DOGE अर्थात् सरकारी दक्षता विभागको जिम्मेवारी दिए । मस्कले ट्रम्पको चुनावी अभियानकै क्रममा घोषणा गरेको उक्त काल्पनिक विभाग ट्रम्पले वास्तविकतामा रुपान्तरण गरी दुई हस्तीलाई त्यसको जिम्मा दिएका हुन् । अब उक्त बहुप्रतिक्षित विभागमा काम गर्नका लागि दक्ष तथा योग्य मानिसको खोजी सुरु गरिएको छ ।
यस विषयमा मस्क स्वामित्वको सोसल मिडिया प्लाटफर्म एक्समा DOGE को अकाउन्टबाट पोस्ट गरिएको छ । यहीँ हप्ताको सुरुमा Department of Government Efficiency ले एक्समा आफ्नो अकाउन्ट खोलेको हो । उक्त अकाउन्टमा अहिले फलोअर्सको संख्या १४ लाख पुगिसकेको छ ।
दक्षता विभागमा काम गर्न चाहिनेछन् यी योग्यता
बिहीबार DOGE ले आफ्नो एक्स अकाउन्टमा उक्त जागिरका लागि आवेदन खुलाउँदै एउटा पोस्ट गर्यो । उक्त पोस्टमा विभागले उसलाई सहयोग गर्न चाहने हजारौं अमेरिकी नागरिकहरुप्रति आभार प्रकट गरेको छ । तर आंशिक अवधारणा सर्जक (पार्टटाइम आइडिया जेनेरेटर) भने आवश्यकता नरहेको विभागले जनाएको छ ।
विभागले अति उच्च आइक्यू भएका मानिसहरुको खोजी गरिरहेको जनाएको छ । विभागलाई यस्ता मानिसको आवश्यकता छ जसले हप्तामा ८० घण्टाभन्दा धेरै काम गर्न सकुन् । यस्तो काम गर्नसक्ने व्यक्तिले DOGE लाई एक्सको डाइरेक्ट मेसेजमा वैयक्तिक विवरण पठाउन सक्नेछन् । पोस्टका अनुसार वैयक्तिक विवरण पठाउने मध्ये एक प्रतिशत सर्वोत्कृष्ट उम्मेदवारहरुको योग्यताको परीक्षण एलन मस्क र विवेक रामास्वामीले गर्नेछन् ।
यद्यपि विभागमा काम गर्नका लागि चाहिने अनुभव तथा शैक्षिक योग्यताको बारेमा चाहीँ कुनै जानकारी गराइएको छैन । विभागले उम्मेदवारहरुलाई आफ्नो वैयक्तिक विवरण अर्थात् सिभी सिधै पठाउन भनेको छ ।
उक्त विभागले एक्समा गरेको पोस्टमा भनिएको छ : हामीलाई DOGE मा सहयोग गर्ने इच्छा जाहेर गरेका हजारौं अमेरिकीहरु प्रति हामी कृतज्ञ छौं । हामीलाई पार्टटाइम आइडिया सर्जकहरुको कुनै आवश्यकता छैन । हामीलाई सुपर हाइ आइक्यू भएका सानो सरकारी क्रान्तिकारीको खाँचो छ जसले अप्रिय सुनिने खर्च कटौतीका लागि हप्ताको ८० घण्टाभन्दा धेरै काम गर्न चाहन्छन् । यदि तपाइँ यस्तो हुनुहुन्छ भने आफ्नो वैयक्तिक विवरण यो अकाउन्टमा डिएम गर्नुहोस् । एलन र विवेकले शीर्ष १ प्रतिशत आवेदकको समीक्षा गर्नेछन् ।
के हुनेछ DOGE को काम ?
अमेरिकाको नयाँ राष्ट्रपतिमा निर्वाचित भएसँगै डोनाल्ड ट्रम्पले उक्त विभागको घोषणा गरेका हुन् । अमेरिकाका सरकारी निकायहरुका कामलाई अब्बल तथा दक्ष बनाउन, कर्मचारीतन्त्रीय समस्याहरु हटाउन तथा खर्च घटाउने महत्वपूर्ण जिम्मेवारी यो विभागले बहन गर्नेछ । यो विभागले सरकारलाई बाहिरबाटै सहयोग गर्नेछ ।
सरकारका ठूलो संख्याका संघीय इकाइहरुलाई बन्द गरेर कर्मचारीतन्त्रलाई सफा गर्नु यसको प्रमुख काम हो । यसले अमेरिकाको प्रशासनिक संयन्त्रलाई छरितो बनाउने र धेरै सरकारी एजेन्सीहरु बन्द गर्ने अपेक्षा गरिएको छ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।