Main

विपद्‌को १ महिना : काभ्रेमा संकलन भएन क्षतिको पूर्णविवरण

१३ कात्तिक, काभ्रे । गत असोज दोस्रो साता अविरल वर्षाले निम्त्याएको विपद्‌को ठ्याक्कै एक महिना पुगेको छ । तर एक महिना बितिसक्दा पनि काभ्रेमा जिल्लामा मानवीयबाहेक अन्य क्षतिको पूर्णविवरण संकलन गर्न हुन सकेको छैन ।

क्षतिको विवरण संकलन नहुँदा प्रभावित परिवारले राज्यबाट पाउने आर्थिक सहयोग पनि पाउन सकेका छैनन् । सरकारले क्षतिको विवरण संकलनको जिम्मा सम्वन्धित पालिकालाई नै दिएको छ । तर पालिकाले क्षतिको विवरण संकलनमा तदारुकता देखाएका छैनन् ।

क्षतिको विस्तृत विवरण नहुँदा दातृ निकाय र सरकारलाई समेत ठोस योजना बनाएर काम गर्न मुस्किल परिरहेको जिल्ला प्रशासन कार्यालय काभ्रेले जनाएको छ ।

जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक समेत रहेका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले समयमा विवरण नआउँदा अस्थायी आवास बनाउन दिइने १५ हजार रुपैयाँ दिन समेत समस्या परेको बताए ।

पालिका प्रमुख र प्रमुख प्रशासकीय अधिकृत सहितको बैठकमा कात्तिक ९ गतेसम्म आधिकारिक तथ्यांक पालिकाहरुले संकलन गरिसक्ने भनिए पनि कात्तिक १२ गतेसम्म पनि तथ्यांक प्राप्त नभएको प्रमुख जिल्ला अधिकारी ढकालले बताए ।

‘सहयोगी एजेन्सीहरुले आधिकारिक डाटा मागेकोमाग्यै छन्, सबैभन्दा समस्या नै डाटामा रह्यो,’ प्रमुख जिल्ला अधिकारी ढकालले भने ।

गत असोज ११ र १२ गतेको अविरल वर्षासँगै आएको बाढी पहिरोबाट काभ्रे जिल्लाका विभिन्न पालिकाहरुका बस्ती तहसनहस पारेको थियो । विभिन्न ठाउँमा सडक, सञ्चार, विद्युत्, खानेपानीमा समस्या भयो । अझै पनि धेरै वडाहरुमा यी सेवाहरु नियमित सञ्चालन हुन सकेका छैनन् । क्षतिपछि नागरिकहरुको जीवन कष्टकर बनेको छ । त्यसपछि सरकारले काभ्रेका पालिकाहरुलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ ।

जिल्लाका १३ स्थानीय तहहरुमध्ये पाँच वटा स्थानीय तह नमोबुद्ध नगरपालिका, पनौती नगरपालिका, बेथानचोक, रोशी र तेमाल गाउँपालिकालाई अति प्रभावित क्षेत्रमा वर्गीकृत गरेको छ ।

मण्डनदेउपुर नगरपालिका, भुम्लु, चौंरीदेउराली, महाभारत र खानीखोला गाउँपालिकालाई मध्यम र पाँचखाल नगरपालिकालाई सामान्य प्रभावित पालिकाको रुपमा वर्गीकृत गरिएको छ । जिल्लाका बनेपा र धुलिखेल भने प्रभावितमा परेका छैनन् ।

रोशी गाउँपालिकाका अध्यक्ष दिनेश लामाले १२ वटा वडा रहेको पालिकामा डाटा संकलन भइरहेको जानकारी दिए । मंगलबारसम्म सबै डाटा संकलन गरिसक्ने लामाले जानकारी दिए ।

त्यस्तै पनौती नगरपालिकाका प्रमुख रामशरण भण्डारीले पनौतीको प्रारम्भिक क्षतिको विवरण संकलन भएपनि आधिकारिक डाटा संकलन भइरहेको जानकारी दिए । उनका अनुसार सोमबार बसेको कार्यपालिकाको बैठकबाट ३ दिनभित्र सबै वडाका क्षतिका विवरणहरु संकलन गरिसक्ने निर्णय गरेको जानकारी दिए ।

‘सडक सबै ठाउँमा पुर्‍याउन सकिएको छैन, एउटा घरको डाटा लिन १ घण्टा लगाएर जानपर्छ, बल्ल–बल्ल पुग्यो घरको मान्छे भेटिन्न, त्यहीभएर संकलनमा अलि ढिलाइ भइरहेको छ,’ उनले भने ।

पालिकाहरुले तथ्यांक संकलन गर्न नसके पनि शहरी विकास तथा भवन कार्यालयले भने काभ्रेका १३ पालिकामध्ये ८ पालिकामा निजी तथा सरकारी भवनहरुमा भएको क्षतिको मात्र प्रारम्भिक विवरण संकलन गरेको छ ।

हेर्नुहोस् क्षतिको प्रारम्भिक विवरण :

शहरी विकास तथा भवन कार्यालय सब–इन्जिनियर सुरेन्द्र श्रेष्ठका अनुसार बेथानचोक गाउँपालिका, नमोबुद्ध नगरपालिका, रोशी गाउँपालिका, चौरीदेउराली गाउँपालिका, धुलिखेल नगरपालिका, पाँचखाल नगरपालिका, खानीखोला गाउँपालिका र महाभारत गाउँपालिकामा प्रारम्भिक विवरण संकलन गरिएको छ ।

ती पालिकाहरुमा भएको निजी घर, सरकारी कार्यालय, विद्यालय र अस्पतालहरुमा भएको पूर्ण तथा आंशिक क्षतिको विवरण मात्र संकलन गरिएको हो ।

खानेपानीको क्षेत्रमा सबैभन्दा धेरै क्षति पुगेको प्रारम्भिक अनुमान छ । तर कहाँ, कति क्षति भयो भन्ने एकिन हुन सकेको छैन ।

पालिकास्तरीय तथ्यांक नआउन्जेल घर, गोठ, खेतीयोग्य जमिन, सडक, खानेपानी, पुल, विद्यालय, स्वास्थ्य संस्था लगायतको निर्माण तथा पुनर्निर्माण सुरु गर्न र पीडितलाई राहत वितरण गर्न सकिएको छैन ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button