सुदूरपश्चिम रोयल्सले धनगढीमा निकाल्यो र्याली
३ मंसिर, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) टोली सुदूरपश्चिम रोयल्सले सोमबार धनगढीमा र्याली निकालेको छ । स्थानीय संस्कृति र भेषभूषा झल्कने झाँकीसहित टिमका सदस्य र स्थानीयहरूको सहभागीतामा उक्त र्याली निकालिएको हो ।
धनगढीको चौराहदेखि रंगशालासम्म आयोजना गरिएको र्यालीमा टिम मालिक स्वतन्त्र प्रताप शाह, मुख्य प्रशिक्षक जगत टमाटा र मार्की खेलाडी दिपेन्द्र सिंह ऐरीसहित आरिफ शेख, विनोद भण्डारी, इशान पाण्डे, अमित श्रेष्ठ लगायत खेलाडी तथा ओलम्पियन एवं टिमका ब्रान्ड एम्बेसडर दीपक विष्टको सहभागिता रहेको थियो ।
त्यसैगरी नेपाल क्रिकेट संघ (क्यान) अध्यक्ष चतुरबहादुर चन्द र फाप्ला अन्तराष्ट्रिय क्रिकेट मैदान एवं खेलग्राम पूर्वाधार निर्माण विकास समितिका अध्यक्ष सुवास शाहीलगायत क्यानका कार्यसमिति सदस्यहरु पनि उपस्थित थिए ।
कार्यक्रममा बोल्दै टोलीका प्रमुख कार्यकारी अधिकृत प्रकाश खड्काले समग्र सुदूरपश्चिम क्षेत्रको प्रतिनिधित्व यस टोलीले गरेकाले यहाँको स्थानीय संस्कृतिलाई क्रिकेटको माध्यमबाट विश्वभर चिनाउने लक्ष्य रहेको बताए । र्यालीमा देखिएको स्थानीय सहभागिताले टोलीको हौसला झनै बढेको र सुदूरपश्चिमको नाम उच्च बनाउन खेलाडीको मनोबल पनि बढेको महसुस भएको उनको भनाइ थियो।
सुदूरपश्चिम रोयल्सले अब केही दिन धनगढीमै रहेर प्रशिक्षण गर्ने कार्यक्रम रहेको छ ।
क्यानको आयोजनामा हुन लागेको एनपीएल क्रिकेट ८ टोलीको सहभागितामा मंसिर १५ देखि पुस ६ गते सम्म एनपिएल हुनेछ । सुदूरपश्चिमको मार्की खेलाडीमा कीर्तिमानी अलराउन्डर दीपेन्द्रसिंह ऐरी छन् । मेन्टरमा अष्ट्रेलियाका ब्राड हज तथा मुख्य प्रशिक्षक राष्ट्रिय टोलीका पूर्व प्रशिक्षक जगत टमाटा हुन् ।
सुदूरपश्चिमको टोली: दीपेन्द्र सिंह ऐरी, आरिफ शेख, अभिनास बोहोरा, विनोद भण्डारी , अर्जुन कुमाल, खडक बोहोरा, इशान पाण्डे, नरेश बुढाऐर, भोजराज भट्ट, नरेन साउद , अमित श्रेष्ठ, ब्रान्डन मक्मलेन (स्कटल्यान्ड), सेफ अलि जेब (इंग्ल्यान्ड), स्कट कुगेलेइन (न्युजिल्याण्ड), रोहन मुस्तफा (यूएई)
– यस समाचारको श्रोत : Online Khabar हो ।