अन्तर कलेज ई-स्पोर्ट्स च्याम्पियनसिप पुसको अन्तिम साता
३० कात्तिक, काठमाडौं । ई-स्पोर्ट्स संघ नेपाल (ईशान)को आयोजनामा अन्तर कलेज ई-स्पोर्ट्स च्याम्पियनसिप पुस २६ र २७ गते आयोजना हुने भएको छ । संघको वार्षिक क्यालेन्डर अनुसार कलेजस्तरको प्रतियोगिता पुसको अन्तिम साता काठमाडौंको बसुन्धारास्थित साउथ वेस्टन कलेजमा हुने भएको हो ।
प्रतियोगितामा पब्जी मोबाइल, एमएलबीबी, ईफुटबल र फ्रि-फायर गरी चार विधालाई समावेश गरिएको छ । करिब ५ लाख पुरस्कार राशी रहने प्रतियोगितामा देशभरका कलेजका विद्यार्थीले सहभागिता जनाउन सक्नेछन् ।
चार खेल विधाका विजेता टिम तथा खेलाडीलाई ५ लाख रुपैयाँको पुरस्कार रकम बाँडिनेछ । ईशानको वेब साईटमा गएर खेलाडीले प्रतियोगिताका लागि नाम दर्ता गर्न सक्नेछन् ।
खेलाडी दर्ता मंसिर २ गतेदेखि सुरु हुनेछ र मंसिर ३० गतेसम्म चल्नेछ । छनोट खेल अनलाइनमार्फत र फाइनल खेल ल्यान इभेन्टको रुपमा पुस २६ र २७ गते सञ्चालन गरिने तालिका रहेको छ ।
प्रतियोगितामा देशभरका कलेजबाट सहभागिता जनाउने सकिने आयोजक संघका सचिव आशिष दाहालले बताए । सम्बन्धित कलेजको सिफारिस पत्रका आधारमा खेलाडीले प्रतियोगितामा नाम दर्ता गर्न सक्नेछन् ।
खेलाडीको सिफारिससँगै सहभागी हुने सम्बन्धित कलेजले इशानको ई-स्पोर्ट्स क्लबमा आबद्धताका लागि पत्र समेत दिनुपर्नेछ ।
खेलाडीको ग्रासरुट मानिने विद्यालय कलेजमा ई-स्पोर्ट्स क्लब गठन गरेर सम्बन्धित खेल र खेलाडीको विकासमा तल्लो तहबाट काम गर्ने उद्धेश्यले प्रतियोगितासँगै सबै कलेजमा ई-स्पोर्ट्स क्लब बनाउन लागिएको दाहालले बताएका छन् ।
– यस समाचारको श्रोत : Online Khabar हो ।