विद्यालयदेखि नै खेलकुद गतिविधि बढाउँदै राखेप

११ असार, काठमाडौं । टेबल टेनिसमा प्रतिस्पर्धा गरेकी १० वर्षीय प्रश्ना महर्जनले फाइनलमा हार्दा पनि धेरै निराश देखिइनन् । खेलबारे उनले भनिन्, ‘जित्नु मात्र ठूलो कुरा होइन सिक्नु ठूलो कुरा हो ।’
राष्ट्रिय खेलकुद परिषद (राखेप) ले पहिलो पटक आयोजना गरेको यू-१५ विद्यालय खेलकुदमा महर्जन जस्तै विभिन्न ६ खेलमा प्रतिभावान खेलाडीले आफ्नो क्षमता देखाएका थिए ।
प्रदेश खेलकुद परिषद, गण्डकी सहआयोजक रहेको प्रतियोगितामा एथ्लेटिक्स, बास्केटबल, ब्याडमिन्टन, बुद्धिचाल, टेबलटेनिस र रग्बी समावेश गरिएको थियो ।
कुल ३० स्वर्णका लागि भएको प्रतियोगितामा गण्डकी ११ स्वर्ण जित्दै टिम च्याम्पियन बनेको थियो ।
राखेपका सदस्य सचिव टंकलाल घिसिङले आफू सदस्य सचिव बनेर आउँदैमा ग्रासरुट खेलकुदमा जोड दिने घोषणा गरेको सम्झिए ।
‘हामीले विद्यालय खेलकुदलाई नेपाली खेलकुदको ग्रासरुट बनाउनुपर्छ भन्दै आएको धेरै वर्ष भयो । अब भनेर मात्र भन्दा पनि त्यसलाई कार्यान्वयन गर्नुपर्छ भनेर हामीले योजना बनाएर अघि बढ्यौँ । यसलाई कार्यान्वयन गर्न पाउँदा राखेप सदस्य सचिवको रुपमा हर्षित छु’, उनको भनाइ छ ।
सदस्य सचिव घिसिङले यो खेल आफ्ना लागि यादगार भएको बताए । ‘जुनियर खेलाडीहरुले यति धेरै कन्फिडेन्टका साथ निर्वाध ढंगले, निसंकोच, स्वतन्त्र भएर मनभित्र कुनै लालसा वा आरिस नराखी एकदमै रमेर खेलेको पाएँ’, उनले भने ।
विद्यालयस्तरमै राष्ट्रियस्तरका दुई प्रतियोगिता
टेबल टेनसमा च्याम्पियन बनेको बागमती प्रदेश ।
पहिलो पटक आयोजना भएको यू-१५ विद्यालय खेलकुदमा १५ वर्ष मुनिका विद्यार्थीहरुले भाग लिएका थिए । स्कुलमा पढाईंसँगै अतिरिक्त क्रियाकलापहरुमा समेत सहभागी हुने उनीहरु राष्ट्रियस्तरको प्रतियोगितामै सहभागी हुन पाउँदा दंग थिए ।
यो प्रतियोगिताबाट केही खेलाडीले जुनियर राष्ट्रिय टिममा खेल्ने सम्भावना समेत देखाएका छन् । ब्याडमिन्टनका सुविन श्रेष्ठ र रिहाना शेरचनले त नेपालका लागि उमेर समूहको अन्तर्राष्ट्रिय खेल समेत खेलिसकेका छन् ।
यस्तो प्रतियोगिताले विद्यार्थीहरुका लागि धेरै फाइदा पुग्ने ब्याडमिन्टनमा दुई स्वर्ण जितेकी रिहानाले बताइन् । ‘यो धेरै राम्रो प्लेटफार्म हो । यसबाट विद्यार्थीहरुले आफ्नो क्षमता देखाउने अवसर पाउनेछन् ।’
रिहानाले भविष्यमा ओलम्पिक खेल्ने आफ्नो लक्ष्य रहेको सुनाइन् ।
स्कुलको जुनियर प्रतियोगिता
नेपालमा विद्यालयस्तरमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुँदै आएको छ । प्लस टु लाई पनि विद्यालयमा समावेश गरेपछि अहिले राष्ट्रपति रनिङ शिल्डमा कक्षा १२ सम्म अध्ययन गर्ने विद्यार्थीले प्रतिस्पर्धा गर्न पाउनेछन् । जसले गर्दा १८ वर्षसम्मका खेलाडीहरुले त्यसमा भाग लिनेछन् ।
अहिले सञ्चालन भएको विद्यालय खेलकुदमा भने १५ वर्षमुनिका विद्यार्थीले मात्र भाग लिन पाउनेछन् ।
१४औं केन्द्रीयस्तरीय राष्ट्रपति रनिङ सिल्डमा टिम च्याम्पियन बनेको सुदूरपश्चिम प्रदेश ।
स्कुल स्तरदेखि नै खेलकुदलाई पिरामिड शैलीमा विकास गर्ने लक्ष्य अनुसार यो प्रतियोगिता गरिएको र अब विद्यालयमै सिनियर र जुनियर प्रतियोगिता हुने सदस्य सचिव घिसिङले जानकारी दिए ।
‘विद्यालयस्तरको सिनियर प्रतियोगिताको रुपमा राष्ट्रपति रनिङ शिल्ड र जुनियर प्रतियोगिताको रुपमा यू-१५ विद्यालय खेलकुदलाई लिन सकिन्छ’, उनले भने ।
घिसिङले विद्यालयस्तरमा अनिवार्य खेलकुद पाठ्यक्रम समावेश गर्ने तयारी रहेको समेत बताए । ‘हामीले महत्वपूर्ण कार्यक्रममको रुपमा विद्यालय स्तरमा अनिवार्य खेलकुद पाठ्यक्रम कार्यान्वयन गर्ने एजेन्डा अघि बढाएका छौँ । खेलकुद मन्त्रालयमा यस बारे पठाएको ६-७ महिना भइसक्यो’, सदस्य सचिव घिसिङले भने ।
विद्यालय, कलेज, विश्वविद्यालयसम्म खेलकुदका पाठ्यक्रम समावेश गरेर खेलकुद गतिविधि अघि बढाउन सकेमात्र देशले अन्तर्राष्ट्रिय स्तरमा पदक हासिल गर्न सक्ने उनको भनाइ छ ।
भविष्यमा खेल संख्या थपिने
सदस्य सचिव टंकलाल घिसिङ
पहिलो पटक आयोजना भएको विद्यालय खेलकुदमा ६ खेल समावेश थियो । जसमा एथ्लेटिक्स, बास्केटबल, टेबल टेनिस, ब्याडमिन्टन, बुद्धिचाल र रग्बी समावेश गरिएको थियो ।
कुन खेल समावेश गर्ने भनेर कमिटी नै गठन गरेर खेल छनोट गरिएको सदस्य सचिव घिसिङले जानकारी दिए ।
आगामी दिनमा खेलको प्रकृति हेरेर संख्या बढाउन सकिने उनको भनाइ छ । ‘हामी पहिलो पटक यू-१५ विद्यालय खेलकुद गर्दा सोचेको भन्दा राम्रो सफलता पायौँ’, घिसिङले भने, ‘स्वभाविक रुपमा यसले दोस्रो पटक गर्दा खेल थपिन सक्छ भनेर संकेत गरिसकेको छ ।’
यस पटक राष्ट्रपति रनिङ शिल्ड वैशाख महिनामा आयोजना हुँदा विद्यालय खेलकुद पनि जेठको अन्तिममा मात्र आयोजना भयो । आगामी संस्करणदेखि राष्ट्रपति रनिङ शिल्ड र विद्यालय खेलकुद सञ्चालनको समय मिलाउने राखेपको तयारी छ ।
अन्तर्राष्ट्रिय स्तरमा जोड्ने लक्ष्य
अहिले नेपालमा स्कुल कलेजमा अध्ययन गर्नेहरुका लागि यू-१५ विद्यालय खेलकुद, राष्ट्रपति रनिङ शिल्ड र विश्वविद्यालय खेलकुद गरी तीन खेलकुद प्रतियोगिता हुन्छ ।
यसबाहेक बृहत राष्ट्रिय खेलकुद नेपालको मुख्य खेल मेलाको रुपमा छ ।
अब विद्यालयस्तरमा देखिएको प्रतिभालाई विभिन्न तहमा सहभागी गराउँदै निखार्दै राष्ट्रिय स्तरसम्म पुर्याउने र उत्कृष्ट खेलाडी बनाउदै अन्तर्राष्ट्रिय स्तरमा खेल्न सक्ने बनाउने राखेपको लक्ष्य छ ।
अहिले विश्वविद्यालय तहमा अध्ययन गर्नेहरुका लागि इन्टरनेसनल युनिभर्सिटी स्पोर्ट्स फेडेरेसन (एफआईएसयु) ले वर्ल्ड युनिभर्साइड प्रतियोगिता योजना गर्दै आएको छ । विद्यालय स्तरमा पनि इन्टरनेसनल स्कुल स्पोर्ट्स फेडेरेसन (आईएसएसएफ)ले आईएसएफ वर्ल्ड जिम्न्यासाइड प्रतियोगिता गर्दै आएको छ ।
नेपालका स्कुल स्तरका प्रतिभालाई त्यही स्तरकव अन्तर्राष्ट्रिय खेल प्रतियोगितामा जोड्ने योजना रहेको घिसिङले बताए । ‘यसरी नै आज विश्व खेलकुद कुन तरिकाले अघि बढेको छ हामीले पनि त्यसलाई आत्मसाथ गर्दै अघि बढ्ने हो’, घिसिङले भने ।
घिसिङले घरेलु प्रतियोगिताको खाका बनाएर त्यसलाई अन्तर्राष्ट्रिय स्तरमा पनि जोड्ने लक्ष्य रहेको बताए । ‘हामीले कम्तीमा हाम्रो घरेलु प्रतियोगिताको एउटा खाका बनाएका छौँ । यो बन्नु भनेकै अन्तर्राष्ट्रिय स्तरको सहभागितालाई जोड दिनु हो’, उनले भने ।
– यस समाचारको श्रोत : Online Khabar हो ।