आजदेखि महजात्रा, दशकपछि प्रहसन लिएर आउँदै महजोडी
काठमाडौं । महजात्रा प्रहसन मार्फत महजोडी अर्थात् अभिनेताद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य बिहीबारदेखि दर्शकमाझ फर्किंदैछन् । यो लोकप्रिय प्रहसन महजोडीको दशकपछिको पुनरागमन हुनेछ । प्रज्ञा प्रतिष्ठानमा हुने प्रहसनको सबै तयारी पूरा भएको जनाइएको छ ।
मीरा फाउन्डेसन र मानव सेवा आश्रमको सहयोगार्थ आयोजना गरिएको कार्यक्रम कात्तिक २९, ३० र मंसिर १, ४, ५, ६, १२, १३, १७ र १८ गते हुने विज्ञप्तिमा उल्लेख छ ।
मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको जोडीले यसअघि प्रस्तुत गरेका यमलोक, प्यारालाइसिस, अंशबण्डा, विज्ञापन, श्राद्ध, नेपाल बन्द, रिमोट कन्ट्रोल, वडा नम्बर ३४, दुई सय पाँच, नाता, सपथ ग्रहण जस्ता प्रस्तुति लोकप्रिय छन् ।
कलाकार श्रेष्ठ पार्किन्सन्स रोगबाट पीडित भएपनि अभिनय, लेखन र गायनलाई निरन्तरता दिइरहेका छन् । स्वास्थ्यले साथ दिएसम्म कलाकारिता क्षेत्रमा लागिरहने बताउँदै उनले साथी हरिवंशलाई सधैं साथ दिने प्रतिबद्धता पनि सार्वजनिक रूपमा व्यक्त गर्दै आएका छन् ।
प्रहसनमा किरण केसी, राजाराम पौडेल, शिवहरि पौडेल, नरेन्द्र कंसाकार, शैलेन्द्र सिम्खडा, यमन श्रेष्ठ, दिनेश काफ्ले र विभूषा बस्नेतले पनि प्रस्तुति दिनेछन् । प्रहसनको उद्देश्य हास्यव्यंग्यको माध्यमबाट समसामयिक समस्या र विविध मुद्दालाई उजागर गर्नु रहेको तथा नेपाली समाजका परम्परा, राजनीति, सामाजिक संरचना, र सांस्कृतिक कुरीतिहरूलाई व्यंग्य शैलीमा प्रस्तुत गर्नु रहेको कलाकार किरण केसीले बताए ।
१० वर्षको अन्तरालपछि मञ्चमा एकसाथ आउन लागेका महजोडीले पुरानो शैलीको हास्यव्यंग्यलाई पुनर्जीवित गर्ने उद्देश्य लिइएको छ । यो प्रहसनमा मनोरञ्जनसँगै सामाजिक सन्देशको सम्मिश्रण हुने जनाइएको छ, जसले दर्शकलाई हँसाउँदै समाजप्रति नयाँ दृष्टिकोण राख्न प्रेरित गर्नेछ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।