मधेश र सुदूरपश्चिम मनमोहन मेमोरियल यू–१६ क्रिकेटको फाइनलमा

५ फागुन, काठमाडौं । मधेश र सुदूरपश्चिम पोखरामा जारी तेस्रो संस्करणको मनमोहन मेमोरियल यू–१६ राष्ट्रिय प्रतियोगिता फाइनलमा पुगेका छन् ।
सुदूरपश्चिमले गण्डकी प्रदेशलाई दोस्रो सेमिफाइनलमा १०५ रनले हरायो । २०७ रनको विजयी लक्ष्य पछ्याएको गण्डकी प्रदेश २० ओभरमा १०१ रनमा अल आउट भयो । सुदर्शन कोइरालाले ३७ बलमा ४ चौकासहित सर्वाधिक २८ रन बनाए । ईशान पाण्डे २२ रन बनाए ।
सुदूरका निरज ऐरले ४, डम्बर माझी २, सचिन भट्ट, निराजन गौतम र सचिन मल्लले १–१ विकेट लिए ।
त्यसअघि पोखरा रंगशालामा टस जितेर पहिला ब्याटिङ रोजेको सुदूरपश्चिमले २५ ओभरमा ७ विकेट गुमाउँदै २०६ रन बनाएको थियो । ओपनर विशाल विष्टले ५० बलमा १२ चौका र १ छक्कासहित ६६ रन बनाए ।
रविन भण्डारीले ४८ बलमा ३ चौका र २ छक्कासहित ४९, ईशान १३ र निरज ऐरले १८ रन बनाए । गण्डकी प्रदेशका सोनु यादवले सर्वाधिक ४, समिर भुजेल र प्रकाश खनालले १–१ विकेट लिए ।
अर्को सेमिफाइनल खेलमा मधेशले बागमती प्रदेशलाई ५ विकेटले हराउँदै फाइनलमा पुग्यो । जितको लागि १३० रनको विजयी लक्ष्य पछ्याएको मधेशले २३.४ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो ।
मधेशको जितमा चन्दन रामले ५३ बलमा ७ चौका र २ छक्कासहित ५९ रन बनाए । वासिम अली १५, मोहम्मद अमरान १८ र राहुल अन्सारी १० रनमा आउट भए । वागमतीका रोहित ठाकुरले ३ विकेट लिए ।
त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको बागमतीले २५ ओभरमा ८ विकेट गुमाउँदै १२९ रन बनाएको थियो । बागमतीका हिमाल बोहराले ५० बलमा ८ चौका र १ छक्कासहित सर्वाधिक ५९ रन बनाए । मधेशका चन्दले २ विकेट लिए । फाइनल सोमबार हुनेछ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।