महानगरले सुरु गर्यो सार्वजनिक स्थलका भित्तामा चित्र कोर्न

२ वैशाख, काठमाडौं । काठमाडौं महानगरपालिकाले सहरको सौन्दर्य बढाउन सार्वजनिक स्थलका भित्तामा चित्र कोर्न सुरु गरेको छ ।
चित्रकलाबाट सहरको सुन्दरता अभिवृद्धि गर्ने उद्देश्यसहित ललित कला प्रज्ञा प्रतिष्ठानसँगको सहकार्यमा सार्वजनिक स्थलका भित्तामा कलात्मक चित्र कोर्न सुरु गरिएको महानगरले जनाएको छ । यस विषयमा १७ फागुन २०८० मा महानगर र प्रतिष्ठानबीच सम्झौता भएको थियो ।
सम्झौताबमोजिम चित्र लेखनका लागि कलाकार र यससँग सम्बन्धित संघसंस्थाको छनोट प्रतिष्ठानले गरेको हो ।
अहिले सुन्धारा क्षेत्रका सार्वजनिक स्थलका भित्तामा चित्र बनाउने कार्य भइरहेको महानगरले जनाएको छ ।
सो क्षेत्रमा चित्र कोर्ने काम सकिएपछि त्रिपुरेश्वरस्थित रंगशालाको भित्तो, माइतीघरबाट बबरमहल जाँदा दायाँतर्फको भित्तो, प्रदर्शनी मार्गका भित्ता, अन्तर्राष्ट्रिय विमानस्थल बाहिर, बानेश्वर मीनभवन, लैनचौर समाजकल्याण परिषद्को भित्ताहरूमा चित्र कोरिनेछन् ।
महानगरका अनुसार चित्र लेखन गर्दा स्थानअनुसारका आकृतिलाई प्राथमिकता दिइनेछ ।
रंगशाला क्षेत्रमा खेलकुदसँग सम्बन्धित, अन्तर्राष्ट्रिय विमानस्थल बाहिर नेपालका जातजाति तथा भेषभूषा विम्बित हुने चित्र कोरिने छ ।
मौलिकताका लागि कोरिने चित्रहरुमा इन्द्र जात्रा, जात्राका अवसरका प्रदर्शन गरिने परम्परागत नृत्य, भेषभूषा, काठमाडौं चिनिने भौतिक सम्पदा हुनेछन् ।
– यस समाचारको श्रोत : Online Khabar हो ।