नेपाललाई त्रिवि मैदानमा शतक हानेका माइकल लिस्क

१० मंसिर, काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टु को अघिल्लो साइकलमा नेपाल र स्कटल्याण्डबीच टीयू मैदानमा २०२३ फेब्रुअरीमा खेल भएको थियो ।
फेब्रुअरी २३ मा भएको उक्त खेलमा स्कटल्याण्डका माइकल लिस्कले सातौं नम्बरमा ब्याटिङ गर्दै शतक प्रहार गरेका थिए । उनकै अविजित १०७ रन मदतमा स्कटल्याण्डले ९ विकेट गुमाएर २७४ रन बनाएको थियो ।
१९०-५ हुँदा क्रिजमा पुगेका लिस्कले सातौं विकेटका लागि ब्राण्डन म्याकुमलेनसँग ८१ रनको महत्वपूर्ण साझेदारी गरेका थिए । जसका कारण स्कटल्याण्डले पूरै ५० ओभर खेल्न सक्यो । लिस्कले ८५ बल खेल्दा ३ चौका र ९ छक्का प्रहार गरे ।

लिस्कले शतक हानेपनि उक्त खेल भने स्कटल्याण्डले जित्न सकेन । कुशल मल्ल र दीपेन्द्र सिंह ऐरीले उत्कृष्ट ब्याटिङ गरेपछि लिस्कको शतकलाई छायामा पार्दै नेपालले स्कटल्याण्डलाई ३ विकेटले पराजित गरेको थियो ।
५५ रनमा ५ विकेट गुमाएको अवस्थामा कुशल र दीपेन्द्रले छैटौं विकेटका शतकिय साझेदारी गरे । दीपेन्द्रको अविजित ८५ र कुशलले ८१ रन मदतमा नेपालले ४७ ओभरमा ७ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो ।
दीपेन्द्रले ११६ बल खेल्दै ८ चौका र १ छक्का प्रहार गरे । कुशलले ६७ बल खेल्दै ९ चौका र ४ छक्कामा ८१ रन बनाए । त्यसबेला नेपालले दोस्रो पटक ओडिआईमा स्कटल्याण्डलाई हराएको थियो । त्यसयसअघि सन् २०२२ जुलाईमा नेपालले स्कटल्याण्डलाई उसकै मैदानमा पहिलो पटक पराजित गरेको थियो ।
नेपालमा आएर घरेलु मैदानमै शतक हान्ने उनै लिस्क यही मंसिर १५ गतेदेखि सुरु हुने नेपाल प्रिमियर लिग (एनपीएल) खेल्न काठमाडौं आउँदैछन् । उनले पोखरा एभेन्जर्सबाट एनपीएल खेल्नेछन् ।
लिस्कको आगमनले पोखरा एभेन्जर्सको टिमलाई अझ सन्तुलित बनाएको छ । एनपीएलमा एक टिमले चार विदेशी खेलाडी प्लेइङ एघारमा अनिवार्य खेलाउनुपर्नेछ भने टिममा ६ जना सम्म विदेशी खेलाडी अनुबन्ध गर्न सक्नेछन् ।
ब्याटिङ अलराउण्डरको रुपमा रहेको ३४ वर्षीय लिस्क दायाँ हाते ब्याटर हुन् भने दायाँ हाते अफब्रेक बलिङ गर्छन् ।
स्कटल्याण्डका लागि लिस्कको प्रदर्शन
उनलाई स्कटल्याण्डको एक्सप्लोइसिभ ब्याटरको रुपमा चिनिन् । ओडिआईमा विशेषगरी लोअर मिडल अर्डर (छैटौं देखि आठौं) सम्म ब्याटिङ गर्ने लिस्कले ओडीआईमा युएई विरुद्ध ओपनिङ ब्याटिङ समेत गरेका थिए । उनले त्यही खेलमा ओपनिङ बलिङ समेत गरेका थिए ।
सन् २०१४ मा उनले इंग्ल्याण्ड विरुद्ध १६ बलमा ५ छक्का मदतमा ४२ रन प्रहार गरेका थिए । जुन चर्चित बनेको थियो । त्यस खेलमा स्कटल्याण्ड डिएलएस मेथडमा पराजित भए पनि लिस्क नै प्लेअर अफ दि म्याच चुनिएका थिए । तर लिस्कको खेल कन्सिस्टेन्ट भने रहन सकेन ।
लिस्कले स्कटल्याण्डका लागि ८० ओडिआई खेल खेल्दा ६३ इनिङ्समा ब्याटिङ गरेका छन् । जसमा उनले एक शतक र ७ अर्धतशक मद्दतमा १ हजार ३७२ रन बनाएका छन् । टी२०आईमा भने लिस्कले मिडल अर्डरमा ब्याटिङ गर्ने गर्छन् ।
उनले स्कटल्याण्डका लागि ६७ टी२० अन्तर्राष्ट्रिय खेल खेलेका छन् । जसमा एक अरध्शतक मदतमा ७२६ रन बनाएका छन् । उनको उच्च स्कोर ५८ हो । टी२०आईमा उनको स्ट्राइक रेट १३०.३४ छ । सबैखाले टी२० गरी कूल ८५ खेल खेलेका लिस्कले ८५९ रन बनाएका छन् ।
यस्तै टी२०आईमा बलिङमा उनले ४१ विकेट लिएका छन् । उनको बेस्ट बलिङ फिगर ३-११ हो । सबैखाले टी२०मा गरी उनको विकेट संख्या ४५ छ ।
उनले गत जुनमा वेष्ट इन्डिज र अमेरिकामा भएको टी२० विश्वकप खेलेका थिए । जहाँ नामिबिया विरुद्ध जितमा उनले अलराउण्ड प्रदर्शन गर्दै प्लेअर अफ दि म्याच बनेका थिए । उनले उक्त खेलमा १०६ मिटरको लामो छक्का प्रहार गरेका थिए । बलिङमा १ विकेट लिएका उनले ब्याटिङमा ३७ बलमा ३५ रनको महत्वपूर्ण इनिङ्स खेलेका थिए ।
उनले भाइटालिस्ट ब्लास्टमा समरसेटबाट ९ खेल खेलेका थिए । उनले दुई फस्ट क्लास क्रिकेट समेत खेलेका छन् । सन् २०१६ को सिजनअघि लिस्क समरसेटमा अनुबन्ध भएका थिए । उनले समरसेटमा दुई सिजन बिताएपछि काउन्टी क्रिकेट छाडे । लिस्कले सन् २०१७-१७ को आईसी इन्टरकन्टिनेन्टल कप अन्तर्गत २०१७ अक्टोबरमा फस्ट क्लास क्रिकेटमा डेब्यु गरेका थिए ।
स्कटल्याण्डको यू-१३ टिमदेखि यू-१५, यू-१७, यू-१९ सबै उमेर समूहमा खेल्दै लिस्क सिनियर टिममा पुगेका हुन् । उनले सन् २०१३ मा केन्या विरुद्ध टी२०आई र २०१४ मा क्यानडा विरुद्ध ओडिआईमा डेब्यु गरेका थिए ।
– यस समाचारको श्रोत : Online Khabar हो ।