मिसेस वर्ल्डमा नेपालकी पृथ्वीयाले जितिन् ‘ह्युमानिटेरियन’ विधा

काठमाडौं । अमेरिकाको लस-भेगासमा सम्पन्न विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस वर्ल्ड २०२३’ मा नेपालले सेमिफाइनल यात्रा तय गरेको छ । नेपालकी पृथ्वीया थापाले पेजेन्टको सह-विधा ‘मानवीय’मा उत्कृष्टता हासिल गरिन् ।
‘देशको लागि यो उपाधि दिलाउन सक्नुलाई मैले सफलताको रुपमा लिएको छु । यो मेरो लागि मात्र नभएर नेपालकै लागि जित भएको मैले ठानेकी छु’ उनले भनिन् । उनी आगामी साता नेपाल फर्कदैंछिन् ।
मिसेस नेपाल वर्ल्डको आयोजक संस्था रिवन इन्टरटेनमेन्टका अध्यक्ष निशुकान्त झाले यो उपाधिलाई आफूहरुले ठूलो सफलताको रुपमा लिएको बताए । ‘मिसेस वर्ल्डमा हामीले प्रतिनिधित्व गराएको यो दोस्रो अवसर हो । यो अवसरमा उक्त विधा जित्नु हाम्रो लागि गर्वको कुरा हो’ उनले भने ।
प्रतियोगिताको शीर्ष उपाधि चाहिँ जर्मनीकी जुलिया क्यारोलिनले जितेकी छन् । चिकित्सक समेत रहेकी क्यारोलिनले बालबालिका र ज्येष्ठ नागरिकको उपचारमा काम गर्दै आएकी छन् । उक्त प्रतियोगितामा ५७ मुलुकका विवाहित सुन्दरीले प्रतिस्पर्धा गरेका थिए ।
– यस समाचारको श्रोत : Online Khabar हो ।