मुकुन र उपासनाले साइन गरे एक्सन फिल्म ‘कर्मा’
काठमाडौं । सौरभ चौधरीले निर्देशन गर्ने फिल्म ‘कर्मा’मा मुकुन भुसाल र उपासना सिंह ठकुरी अनुबन्धित भएका छन् । निर्माताले आइतबार फिल्ममा नयाँ कलाकारको प्रवेशबारे जानकारी दिएका हुन् ।
यसअघि शीर्ष भूमिकामा विपिन कार्की अनुबन्धित भइसकेका छन् । सर्वकालीन ब्लकबस्टर ‘पूर्णबहादुरको सारङ्गी’पछि मुकुनले यो फिल्म साइन गरेका हुन् ।
फिल्ममा विपिन र उपासना जोडीको भूमिकामा देखिनेछन् । मुकुन खलपात्रको रोलमा देखिनेछन् । विपिन र उपासनाले पहिलो पटक स्क्रिन सेयर गर्न लागेका हुन् ।
यो फिल्म विपिनको तेस्रो एक्सन फिल्म हुनेछ । यसअघि उनी ‘नाका’ र ‘भष्मे डन’मा एक्सन अवतारमा देखिएका छन् । निर्देशक चौधरीले यसअघि पनि एक्सन फिल्म ‘अगस्त्य’को निर्देशन गरेका थिए । पछिल्लो फिल्मका लागि विपिनले आठ किलो तौल बढाएका छन् । मंसिरको दोस्रो सातापछि छायांकनमा जान लागेको ‘कर्मा’लाई नयाँ वर्षको छेकोमा चैतको २९ गते रिलिज हुने जनाइएको छ ।
छायांकन दाङ र रुकुममा गरिनेछ । फिल्मको अन्तर्राष्ट्रिय वितरण अधिकार सेभेन सिजले खरिद गरेको छ । अन्य कलाकार तय हुन बाँकी रहेको जनाइएको छ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।