राजेश हमालले ‘भीएफवाई ग्लोबल’ टक शोमा प्रसिद्ध विदेशी व्यक्तिसँग संवाद गर्ने

काठमाडौं । संवाद कार्यक्रम ‘भीएफवाई टक्स’ले ग्लोबल संस्करणको घोषणा गरेको छ । विहीबार आयोजित पत्रकार सम्मेलनमा ‘भीएफवाई ग्लोबल’को घोषणा गरियो ।
अन्तर्राष्ट्रियस्तरमा प्रसिद्ध नेता, सेलिब्रेटी, उद्यमी, कूटनीतिज्ञ, विज्ञ, सरकार प्रमुख, पत्रकार, आध्यात्मिक गुरु एवं प्राध्यापकसँग अन्तक्रिया र संवाद गर्ने उद्देश्यले नयाँ शोको घोषणा गरियो ।
अंग्रेजी भाषामा संचालन हुने शोमा अभिनेता राजेश हमालले आमन्त्रित अतिथिसँग संवाद गर्ने भएका छन् । जहाँ अतिथिको जीवनशैली, सफलता र असफलताका कथा, नेपालको पर्यटकीय आयामबारे छलफल हुने जनाइएको छ ।
शोको घोषणा गर्दै अभिनेता हमालले यो कार्यक्रमले विश्व नक्सामा नेपालको सक्रिय भूमिका वृद्धि हुने बताए । यो कार्यक्रमले ‘सफ्ट-कूटनीतिको भूमिका खेल्ने आशा उनले व्यक्त गरे । ‘राजनीतिक डिप्लोमेसीको भूमिका विभिन्न च्यानलबाट हुन्छ । तर, यो डिप्लोमेसीले अझै प्रभावकारी भूमिका खेल्न सक्छ’ उनले भने ।
शोका निर्माता तथा निर्देशक दशरथ सुनारले ‘भीएफवाई ग्लोबल’को युट्युव च्यानलबाट चाँडै शो स्ट्रिमिङ हुने बताए । उनले शोलाई चर्चित ओटीटी प्लाटफर्मका लागि पहल गर्ने बताए ।
आफ्नो इच्छाशक्ति नै काम गर्ने प्रेरणाको स्रोत रहेको सुनारले बताए । ‘राजेश दाई नभएको भए सुरु गर्न सक्दिन थिएँ होला । दाई मेरो लागि विश्वविद्यालयजस्तै हुनुहुन्छ’ सुनारले भने, ‘पहिलो एपिसोड सदगुरुबाट थाल्यौं । त्यो एपिसोडले मलाई ऊर्जा दियो ।’
अभिनेता हमालले निर्माता तथा निर्देशक सुनारको इच्छशक्तिको प्रशंसा गरे । ‘उहाँको इच्छाशक्ति र भिजनबाट म प्रभावित छु’ हमालले भने, ‘मैले पनि धेरै कुरा सिक्ने मौका पाएको छु ।’
एक मानवले अर्को मानवबारे जान्न रुचि राख्ने हमालको विश्लेषण छ । ‘मानवजातिको प्राथमिक रुचि भनेकै अर्को मानव प्राणी हो । अर्को मानवको अनुभव, अर्को मानवको जीवनशैली, आचरण, अर्को मानवले कस्तो विचार राख्छ भन्ने कुरा नै हाम्रो प्राथमिक रुचि हो’ उनले भने, ‘यो कार्यक्रम पनि त्यसैको सेरोफेरोमा छ ।’
उनले भीएफवाई टक्सको स्मरण गरे । ‘अघिल्लो सिजन गर्न पाउनु मेरो सौभाग्य हो । साधारण ट्याक्सी चालकसँग भेट गराएर सुरु गराउनुभयो । जसले आम नेपाली समुदायको प्रतिनिधित्व गर्छ’ हमालले भने ।
सामान्य मान्छेको अनुभव महत्वपूर्ण हुने हमालको बुझाई छ । ‘अनुभव भनेको ठूला ठूला व्यक्तिहरु, सो कल्ड एकदमै बौद्धिक व्यक्तिको अनुभव मात्रै गहकिलो हुने, वजनदार हुने, अदम्य हुने होइन । हरेक व्यक्तिको अनुभव र भोगाइबाट अर्को व्यक्तिले कुनै पनि शिक्षा लिन सक्छ । कुनै न कुनै ज्ञान हासिल गर्न सक्छ’ उनले भने ।
हरेक व्यक्तिले अर्को व्यक्तिबाट धेरै कुरा सिक्न सक्ने उनको भनाई छ । ‘हरेक व्यक्तिभित्र आफ्नो प्रकारको साहित्य त्यसमा छ । अर्को व्यक्तिले बुझ्ने र सुन्ने प्रयास गरेमा ज्ञान हासिल गर्न सक्छ’ उनले भने ।
‘भीएफवाई ग्लोबल’ले नेपाललाई अन्तर्राष्ट्रियस्तरमा प्रवर्धन गर्ने, विश्वका अन्य देशसँग कूटनीतिक सम्बन्ध विस्तारमा भूमिका खेल्ने, नेपाली युवालाई प्रेरणा दिने, मानिसमा आत्मविश्वास र भरोसा जगाउन सक्ने उद्देश्य लिइएको निर्माता सुनारले बताए ।
– यस समाचारको श्रोत : Online Khabar हो ।