‘महालक्ष्मी स्मार्ट साथी’ सञ्चालनमा
काठमाडौं । महालक्ष्मी विकास बैंकले मोबाइल एप्लिकेसनलाई परिष्कृत गर्दै ‘महालक्ष्मी स्मार्ट साथी’ एफ सञ्चालनमा ल्याएको छ ।
दशैं, तिहार लगायत चाडपर्वको अवसर पारी बैंकले ग्राहक लक्षित ‘महालक्ष्मी स्मार्ट साथी’ एप सञ्चालनमा ल्याएको हो ।
अत्याधुनिक, सुरक्षित तथा सहज डिजिटल बैंकिङ सुविधा उपलब्ध गराउने बैंकको नीति बमोजिम हालको मोबाइल एप्लिकेसनलाई परिष्कृत गर्दै नयाँ एप सञ्चालनमा ल्याएको जनाएको छ ।
डिजिटल बैंकिङ सेवाको रुपान्तरणकारी परिवर्तन स्वरूप परम्परागत रूपमा उपलब्ध सेवाहरूमा थप विस्तार गरिएको बैंकको भनाइ छ ।
सामान्य बैंकिङ एपभन्दा महालक्ष्मी स्मार्ट साथी मार्फत विकास बैंकमा नै पहिलो पटक विस्तारित सेवाहरू उपलब्ध रहेको बैंकको दाबी छ ।
रियल टाइममा ८ लाख रुपैयाँसम्म मुद्दती धितोे कर्जा सुविधा, अनलाइन मार्फत केवाईसी फारम भर्न एवम् अद्यावधिक गर्न सकिने, आफूले चाहेको बचत तथा मुद्दती खाता खोल्न आवेदन दिन सकिने, कर्जाका लागि योग्य वा अयोग्यबारे ग्राहक स्वयम्ले परीक्षण गर्न सकिने, एप्लिकेसन मार्फत कर्जाको आवेदन दिन सकिने सुविधा यस एपमा उपलब्ध रहेको बैंकले जनाएको छ ।
साथै ग्राामीण तथा अर्धसहरी क्षेत्रमा बैंकिङ सेवाको पहुँचमा वृद्धि गर्न, वित्तीय समावेशीकरणलाई बढावा दिन, प्रत्यक्ष रूपमा बैंकमा उपस्थित हुनुपर्ने बाध्यतालाई न्यूनीकरण गर्न टेवा पुग्ने विश्वास बैंकले लिएको छ ।
उक्त मोबाइल एप्लिकेसन प्रयोगकर्ताको मोबाइलमा स्वयम् स्वचालित रूपमा अपडेट हुनेछ । उक्त एप्लिकेसन एप्पल स्टोर र प्ले स्टोर पनि उपलब्ध रहेको बैंकले जनाएको छ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।