Main

‘ज्वाइँ साब’पछि यस्तो छ जितु नेपालको ‘कार्साङ’ लुक्स

काठमाडौं । जितु नेपाल अभिनित ‘ज्वाइँ साब’ले बक्स अफिसमा अपेक्षित व्यापार गर्न सकेन । तर फिल्ममा उनको अभिनय भने प्रशंसित भयो । चाँडै उनी ‘मुन्द्रेको कमेडी क्लब’को नयाँ सिजन लिएर फर्किने तयारीमा छन् ।

त्यसअघि मंगलबार उनको आगामी कथानक फिल्म ‘कार्साङ’को चरित्र लुक्स सार्वजनिक भएको छ । ‘मकै त पिन्ने घट्टामा, पिरती बस्यो ठट्टामा’ काव्य लाइनसहित उनको लुक्सलाई प्रस्तुत गरिएको छ ।

निर्देशक याम शेर्पाले सार्वजनिक गरेको जितुको यो क्यारेक्टर लुक उनको फिल्मी करिअरमा अहिलेसम्मकै भिन्न हुने देखिन्छ । यसअघि प्रायः हास्य जनराका फिल्ममा आफूलाई प्रस्तुत गर्दै आएका जितुको ‘कार्साङ’ अवतार भने विशुद्ध ग्रामीण भाव प्रस्तुत गर्ने देखिन्छ ।

कालो टोपी, चेक सर्ट, स्टकोट, कालो पाइन्ट र लेकमा लगाउने गमबुट लगाएका जितुले झोला घुँडामा अड्याएका छन् । हातमा कचौरो बोकेका छन् । कचौरामा जाँड रहेको अनुमान लगाउन सकिन्छ । पृष्ठभूमिमा रहेका घर, पहाड, कुहिरो हेर्दा उनी कुनै लेकाली गाउँका स्थानीय हुन् भन्ने बुझिन्छ ।

यसअघि निर्माताले दयाहाङ राईको क्यारेक्टर लुक्स पनि सार्वजनिक गरेका थिए । शेर्पाको डेब्यु निर्देशन रहेको यो फिल्म शेर्पा समुदायको संस्कृतिको परिवेशमा बनेको छ । सिर्जना निङलेखु, दीया मास्के, बुद्धि तामाङ, सृष्टि गौतम, डोमा ह्योल्मो, प्रेम लोप्चन, सुरवीर पण्डितको पनि अभिनय छ ।

‘कार्साङ’ पुस २६ गते प्रदर्शन हुने जनाइएको छ ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button