Main

इतिहास रच्ने टोलीको नेतृत्व गर्दा गर्व लागिरहेको छ : पुजा महतो

२९ कात्तिक, काठमाडौं । नेपाली यू-१९ महिला क्रिकेट टोलीकी कप्तान पुजा महतोले नेपालको नेतृत्व गरेर इतिहास रच्‍न पाउँदा गर्व लागेको बताएकी छन् ।

यू-१९ महिला टी२० विश्वकपमा पहिलो पटक छनोट भएर बिहीबार स्वदेश फर्किएपछि विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै पुजाले यस्तो प्रतिक्रिया दिएकी हुन् ।

नेपाली महिला क्रिकेट टोलीले आईसिसी यू-१९ महिला क्रिकेट विश्वकपमा स्थान बनाउनु निकै खुसीको कुरा भएको उनको भनाइ थियो । उनले नेपाली टोलीको कप्तानी गरेर खेल्न पाउँदा गर्वको महसुस भएको बताइन् । ‘म क्यानलाई धेरै धन्यवाद दिन चाहन्छु, मलाई टोलीको कप्तानको जिम्मेवारी दिएकोमा’ उनले भनिन्, ‘महिला क्रिकेटको इतिहासमा पहिलोपटक विश्वकपमा स्थान बनाउनु भनेको साँच्चै एकदम खुसीको कुरा हो । अब हामी एसिया कप र विश्वकपमा पनि जाँदै छौं र हामी आफूलाई पहिलेभन्दा अझै बलियो बनाउने छौं ।’

त्यस्तै टोलीकी उपकप्तान सोनी पाख्रिनले सबैको लक्ष्य विश्वकपमा पुग्ने भएको र सबैको मेहेनतका कारण त्यो पूरा भएको बताइन् । ‘क्यानबाट पाएको सपोर्ट अनि कोचिङ स्टाफदेखि सबै खेलाडीको मेहेनत थियो, हामीले पाएको मौकाको सदुपयोग गर्‍यौं’ सोनीले भनिन्, ‘विश्वकपमा छनोट हुनु भनेको हाम्रो लागि एउटा असाधारण अनुभव थियो, यूएईलाई उसैको मैदानमा हराएर ट्रफी लिएर आउँदा छुट्टै किसिमको अनुभव भइरहेको छ, निकै गर्व लागिरहेको छ ।’

नेपाली टोलीका मुख्य प्रशिक्षक महेश प्रसाद रिजालले दाङको लमहीमा तयारी गर्दा देखि नै छनोट प्रतियोगिताको महत्वबारे खेलाडीलाई बुझाएको र दिल्लीमा खेलिएको अभ्यास खेलले गर्दा विश्वपमा छनोट हुन सजिलो भएको बताए ।

रिजालले अब नेपाली महिला क्रिकेटमा स्वर्णिम युगको सुरुवात भएको बताए ।

दुबईमा भएको आईसीसी यू-१९ महिला टी-२० विश्वकप एसिया छनोटको च्याम्पियन बन्दै नेपाल पहिलो पटक यू-१९ महिला टी-२० विश्वकपमा छनोट भएको हो ।

नेपालले आगामी वर्ष जनवरी-फेब्रुअरीमा मलेसियामा हुने विश्वकप खेल्नेछ । यस्तै त्यसअघि नेपालले आगामी डिसेम्बरमा एसीसी यू-१९ महिला एसिया कप खेल्नेछ ।

नेपाली युवा महिला टोलीलाई बिहीबार साँझ त्रिभुवन विमानस्थलमा ब्याण्ड बाजासहित भव्य स्वागत गरिएको थियो । विश्वकप पुगेको टोलीलाई स्वागत गर्न राखेप सदस्य सचिव टंकलाल घिसिङ, नेपाल क्रिकेट संघ (क्यान) सचिव पारस खड्का लगायत क्यान पदाधिकारी र क्रिकेट समर्थक विमानस्थल पुगेका थिए ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button