लिङ्ग क्यान्सरको कारण र उपचार

पुरुषको यौनाङ्गमा देखिने जटिल रोगमध्ये लिङ्ग क्यान्सर पनि एक हो । लिङ्ग क्यान्सर दुर्लभ छ । यो क्यान्सर एक लाख जनसंख्यामा एक वा दुई जनामा हुनसक्छ । लिङ्ग क्यान्सर लेटिन अमेरिका, भारत र अफ्रिका महादेशका दक्षिणी मुलुकहरूमा बढी देखिन्छ ।
क्यान्सर दुर्लभ भए पनि पछिल्लो समयमा लिङ्ग क्यान्सर हुनेको संख्या र मृत्युदर धेरै देशमा बढ्दै गएको देखिन्छ ।
के हो लिङ्ग क्यान्सर ?
यो क्यान्सर लिङ्गको छालामा मिलिगेन्ट कोषहरू अनियन्त्रित भएर हुनसक्छ । जसले लिङ्ग वरपरको छाला, मांसपेशीमा प्रभाव पार्छ । यो क्यान्सर लिङ्गको जुनसुकै भागमा देखिन सक्छ ।
लिङ्गको टाउको वा अघिल्लो भागलाई ‘ग्लान्स पेनिस’ भनिन्छ । यसलाई छालाले वा प्रिप्युसले अर्थात् टोपीले ढाकेको हुन्छ । यस भागमा धेरैजसो ग्रन्थीहरू हुन्छन्, जसले सेतो पदार्थ बनाउँछ । यो सेतो पदार्थ (विकार) त्यहाँ जम्मा हुन्छ । यसले क्यान्सर गराउने सम्भावना हुन्छ ।
लिङ्ग क्यान्सरका धेरै प्रकारका हुन्छन् । जसमध्ये स्क्वामस सेल कार्सिनो (छालाको तन्तुमा हुने क्यान्सर) ९५ प्रतिशत र बाँकी ५ देखि १० प्रतिशत लिङ्ग क्यान्सर बेसल सेल कार्सिनोमा मेलोनामा र सार्कोमा लगायत क्यान्सर देखिन्छ ।
कारण
– लिङ्ग र वरपरको भागको सरसफाइमा ध्यान नदिनु र सरसफाइ नगर्नु
– ह्युमन पापीलोमा भाइरस (एचपीभी)को संक्रमण
– फाइमोसिस (लिङ्गको बाहिरी छालामुनि सेतो पदार्थ जम्ने, सो पदार्थ छालामा टाँसिने र पिसाब आउने प्वाल साँघुरिने अवस्थामा
– लिङ्गको छाला तथा मांसपेशीमा संक्रमण (यो समस्यालाई चिकित्सकीय भाषामा बालानाइटिस भनिन्छ)
– लिङ्गको छाला नकाटिएका पुरुषहरूमा
– दुई वा सोभन्दा बढी व्यक्तिसँग असुरक्षित र अप्राकृतिक रुपमा सम्भोग गर्नेहरुमा
– चुरोट तथा मदिराजन्य पदार्थ अत्यधिक सेवन गर्ने बानी भएकाहरुमा
ह्युमन प्यापिलोमा भाइरस (एचपीभी) सम्बन्धित लिङ्गको क्यान्सर
एचपीभीका विभिन्न प्रजाति हुन्छन् । यी मध्ये एचपीभीमा १६ र १८ औं प्रजाति क्यान्सरजनक हुन्छन् । एचपीभीको संक्रमणले लिङ्गको क्यान्सर मात्र नभएर पाठेघरको मुख क्यान्सर, मलद्वारको क्यान्सर र घाँटी मुखको क्यान्सर बढी गराउँछ ।
लक्षण
सुरुवातमा नदुख्ने गाँठो वा सानो घाउ देखा पर्नु, पोल्नु, पानी भरिनु, चिलाउनु, घाउको आकार परिवर्तन आउनु, सो क्षेत्र सुनिन्नु र सोही घाउ बिस्तारै डल्लो पर्दै आउनु यो क्यान्सरको सुरुवाती लक्षण हुन् । सो घाउको रंग निलो, खैरो, कालो हुनु र लिङ्गको छाला मोटो हुँदै जानु यसका लक्षण हुन् ।
जटिल हुँदा देखिने लक्षण
समयमा उपचार भएन भने लिङ्गमा देखा परेका घाउमा पिप जमिरहेको हुन्छ । मांसपेशी सड्न थाल्छ । घाउ क्षतविक्षत् भएर गन्हाउने र पिसाब फेर्न कठिन हुनसक्छ । यो क्यान्सर वरपरको अन्य भागमा फैलिन थाल्छ । कालान्तरमा यसले बिरामीलाई गम्भीर अवस्थामा पुर्याउन सक्छ ।
रोगको फैलावट र जीवन
कतिपयलाई क्यान्सर हुनेबित्तिकै मृत्यु हुने भयले सताउँछ । तर यस्तो पक्कै होइन । लिङ्गको क्यान्सरका एकदेखि चार चरण हुन्छन् । यसमा लिङ्ग क्यान्सरको वृत्त, आकार, स्थान परिधि र त्यस स्थानमा आएका गाँठोहरुबाट कस्तो अवस्था छ भनेर निर्णय गर्न सकिन्छ ।
यदि सुरुवातको अवस्था छ भने यो रोग निको हुन्छ । तर उपचार भएन भने जटिलता बढ्दै जान्छ । लिङ्ग क्यान्सर जति वृद्धि हुन्छ । अर्थात्, धेरै हिप र कम्मर वरपर भित्रका गाँठोहरुमा छोएको वा फैलिएको हुन्छ, त्यति आयु कम हुन्छ ।
पहिचान
– यौनाङ्ग र पेटको एमआरआई गर्ने
– लिङ्ग र सो वरपर देखिएको घाउ तथा मांसपेशीको नमुना लिई बायोप्सी गर्ने
– गाँठागुठी भए त्यसको एफएनएसी गर्ने (गाँठोबाट सियोले मासुको टुक्रा झिकेर जाँच्नुपर्छ)
उपचार विधि
शल्यक्रिया : यदि बाहिरी छालामा क्यान्सर छ भने सो छालाको शल्यक्रिया गरिन्छ । यो प्रक्रियालाई ‘सरकुमसिंजन’ भन्ने गरिन्छ ।
त्यस्तै, क्यान्सरको घाउले धेरै भाग ओगटेको भए शल्यक्रिया पनि ठूलो गर्नुपर्छ । मांसपेशीका महत्त्वपूर्ण भागहरू फाल्नुपर्ने हुनसक्छ ।
पेनेक्टोमी : क्यान्सर छाला तथा मांसपेशीमा भए सो भाग काटेर फाल्नुपर्ने अवस्था हुनसक्छ । यो अवस्थामा लिङ्गको लम्बाइ घट्ने वा पूरै काटेर फाल्नुपर्ने हुनसक्छ ।
किमो औषधि : क्यान्सरले गराएको घाउ माथि किमो औषधि लगाइन्छ । जुन क्यान्सर रोग विशेषज्ञको परामर्श र सल्लाहअनुसार मात्र प्रयोग गर्नुपर्छ । यो औषधि जथाभावी प्रयोग गरे हानिकारक हुनसक्ने हुँदा कसैले दिएमा वा फार्मेसी गएर किनेर आफैं लगाउन हुँदैन ।
रेडिएसन तथा केमोथेरापी : रेडिएसन (विकिरण/सेकाई र किमोथेरापीको औषधिले उपचार गरिन्छ । यसले क्यान्सरलाई बढ्न र फैलनबाट रोक्न मद्दत गर्छ ।
इम्युनो थेरापी : क्यान्सरका कोषिकाहरुलाई शरीरका रोग प्रतिरोधक कोषिकाहरूबाट सखाप पार्न आक्रामक र बलियो पार्ने विशेष औषधिको प्रयोग हुन्छ । जसलाई इम्युनो थेरापी भनिन्छ ।
टारगेटेड थेरापी : क्यान्सरका कोषिकाहरुको संरचना प्रणालीमा आक्रमण गरेर क्यान्सरको कोषलाई मार्ने थेरापी पनि प्रयोग हुनसक्छ ।
लिङ्ग क्यान्सरको रोकथाम
– क्यान्सर रोगबारे सचेत रहनुपर्छ ।
– सुरक्षित यौन सम्पर्क कायम राख्ने र एकजना मात्र यौन साथी बनाउने ।
– अप्राकृतिक यौन सम्पर्क नगर्ने ।
– सरसफाइमा ध्यान दिने, चुरोट, मदिरा सेवन दिने ।
– यौनाङ्गमा समस्या भए छिटो पहिचान र उपचार गर्ने ।
– पोषणयुक्त खानेकुरा खाने ।
– यस समाचारको श्रोत : Online Khabar हो ।