आफू अभिनित दुईटै फिल्म कान्समा छनोट भएपछि लुनिभा : ‘सपना साकार भयो’

काठमाडौं । अभिनेत्री लुनिभा तुलाधरसँग यतिबेला खुसीको सीमा छैन । खुसी पनि दोहोरो ।
यस वर्ष लुनिभाले अभिनय गरेका दुई फिल्म विश्वप्रसिद्ध कान्स फिल्म फेस्टिभलमा छनोट भएका छन् । कोन्स्टान्टिन बोजानोभ निर्देशित ‘द सेमलेस’ फेस्टिभलको ‘अन सर्टेन रिगार्ड’ विधामा छनोट भएको छ ।
काठमाडौंमा सुटिङ भएको यो फिल्ममा लुनिभाले एक भारतीय कोठी सञ्चालक भारतीय महिलाको भूमिकामा अभिनय गरेकी छन् । उनी अभिनित नेपाली फिल्म ‘तारा : द लस्ट स्टार’ पनि कान्सको मार्केटिङ स्क्रिनिङमा छनोट भएको छ । उनले यसलाई आफ्नो सपना साकार भएको अर्थमा लिएकी छन् ।
आफ्नो सपना साकार भएको भन्दै उनले लेखेकी छन्, ‘मैले बाँच्न पाएका दुई सुन्दर पात्रहरू । यो साँच्चै मेरो लागि एक अवर्णनीय अनुभूति हो । उत्साह, गर्व, र केवल स्नायुको स्पर्श गर्ने मिश्रण । साम्तेन भुटियाद्वारा निर्देशित ‘तारा : द लस्ट स्टार’ र कन्स्टेन्टिन बोजानोभद्वारा निर्देशित ‘द शेमलेस’ कान्समा प्रदर्शनमा आउनु भनेको मेरो सपना साकार भएको हो ।’
उनले यो हरेक पलको स्वाद लिइरहेको बताएकी छन् । लेख्छिन्, ‘एक अभिनेत्रीको रूपमा मलाई उनीहरूको दृष्टिकोण र विश्वासको लागि म दुवै निर्देशकप्रति कृतज्ञ छु । यो गर्वको क्षण हो, जसले यी फिल्ममाथि लगाइएका कडा परिश्रम, समर्पण र जोशलाई प्रमाणित गर्छ । म यस अविश्वसनीय उपलब्धिको हरेक पलको स्वाद लिइरहेको छु । विश्वसँग यी कथा बाँड्ने अवसरको लागि कृतज्ञ छु । परिवार, साथीहरू र ब्रह्माण्डलाई धन्यवाद ।’
तर भिजा प्रक्रियामा ढिलाइ हुने भएपछि आफू कान्समा अनुपस्थित हुने उनले बताइन् । कामको कुरा गर्दा लुनिभाले चाँडै सिमोस सुनुवारले निर्देशन गर्ने अभिनयसम्बन्धी एक रियालिटी शोमा जजको रुपमा काम गर्नेछिन् ।
– यस समाचारको श्रोत : Online Khabar हो ।